१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेर मन्त्री गुरुङले दिए निर्देशन, राहत सामग्री पठाउन सुरु


0
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दोलखाको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको छ ।

गत साउन २२ गते रातिको वर्षाका कारण आएको बाढीपहिरोमा परी आफ्नै जन्मस्थल गौरीशंकर गाउँपालिका वडा नम्बर ५, ६ र ८ मा दर्जनौ घर परिवार विस्थापित भएपछि उनीहरुलाई राहत तथा पुनर्वासको तत्काल व्यवस्था गर्न मन्त्री गुरुङ आफैं शनिबार प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा पुग्नु भएको हो ।

जिल्ला दैवी प्रकोप समिति तथा त्यहाँका सबै स्थानीय तहका प्रमुखहरुसहित प्रभावित क्षेत्रमा पुग्नु भएका उहाँले बाढीपहिरो प्रभावित टुनिटार, गुरुम्फीमा पीडितलाई सान्त्वना दिनु भएको थियो ।

साथै जिल्ला दैवी प्रकोप समिति र स्थानीय तहलाई आवश्यक समन्वय गरी तत्काल पीडितलाई राहत तथा पुनर्वासका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनु भएको थियो ।

मन्त्री गुरुङकै पहलमा रेडक्रस लगायतका सामाजिक संघ, संस्थाहरुले पीडितका लागि राहत सामग्री पठाउने क्रम सुरु गरेकाले आइतबारबाट वितरणको काम पनि सुरु गर्न लागिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले जानकारी दिनुभयो ।

त्यस क्रममा मन्त्री गुरुङले जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा गएर बस्न पनि आग्रह गर्नुभयो ।

मन्त्री गुरुङको टोलीमा बागमती प्रदेशकी सांसद सरस्वती बस्नेत, भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसीसहित स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, पत्रकारहरुलगायत सहभागी थिए ।

उक्त बाढीपहिरोमा परी कालिञ्चोक गाउँपालिका वडा नम्बर ८, सुनखानीका २८ वर्षीय सुरेश शिवाकोटीको ज्यान गएको थियो भने ठूलै धनमालको क्षति भएको थियो ।