
काठमाडौं । विशेष अदालतले कोरोना जोखिम बढेसँगै सेवाग्राहीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको छ ।
पछिल्लो समय कोरोना संक्रमण बढेसँगै अदालतमा प्रवेश गर्ने सबैलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी गराउनुभएको छ ।
विशेषले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष सरकारी वकिलको कार्यालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई समेत पिसिआर परीक्षण रिपोर्टसहित अदालतमा उपस्थित हुन पत्र लेखेको छ ।
केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३५ जनामा कोरोना संक्रमण देखिएपछि अदालतले अनिवार्य पिसिआर रिपोर्ट पेस गर्न पत्र लेखेको हो ।
हाल अदालतले सेवा प्रवाहलाई व्यवस्थित बनाउन सर्वोच्चको पूर्ण इजलासबाट यसअघि जारी फैसलाअनुसार न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी तथा सेवाग्राहीले पालना गर्नुपर्ने नियम समेटेर कार्ययोजना जारी गरेको छ ।
अदालतले कोरोना जोखिम न्यूनीकरणका लागि न्यायाधीश, कानुन व्यवसायी, कर्मचारी र सेवाग्राहीको ज्वरो मापन अनिवार्य गरेको हो ।
प्रतिक्रिया दिनुहोस्