१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आन्दोलनमा जाने चिया मजदुरको चेतावनी


0
Shares

झापा। चिया बगानमा कार्यरत मजदुरहरुले रोजगारदाताले श्रम शोषण गरेको आरोप लगाउदै माग पुरा नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

चिया बगानमा कार्यरत तीन वटा मजदुर युनियनहरु नेपाल चिया बगान श्रमिक संघ , नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले शनिबार संयुक्त पत्रकार सम्मेलन गर्दै चिया उद्योगका मालिकहरुले मजदुरको श्रम शोषण गरेको भन्दै आन्दोलनको चेतावनी दिएका हुन् ।

कोभिड-१९ को महामारीमा समेत मजदुरले जोखिम मोलेर काम गर्दै आएको तर रोजगारदाता भने श्रमिकप्रती संवेदनशील नबनेको आरोप लगाएका छन् ।

एक वर्ष अगाडि श्रमिक युनियनहरु र रोजगारदाताबिच भएको सम्झौता अनुसार २०७५ साल साउन १ देखी भएको दैनिक १०७ रुपैयाँ बराबरको रकम २०७५ साउन १ देखी २०७६ वैशाख ३० सम्मको २०७६ चैत मसान्तसम्ममा भुक्तानी दिईसक्ने भनी २०७६ वैशाख ३० गते सम्झौता भएकोमा हालसम्म पनि श्रमिकले उक्त रकम नपाएको र श्रम ऎन २०७४ को दफा १०६ मा प्रत्येक दुई वर्षमा न्युनतम पारिश्रमिक पुनरवलोकन गर्ने व्यवस्था भएकोले २०७७ साउन १ देखी लागु हुने गरि चिया श्रमिकको पारिश्रमिक वृद्धि गरिनुपर्ने नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङले बताउनुभयो ।

कोरोनाको सन्त्रास बढिरहेको बेला जोखिम मोलेर दैनिक काम गर्ने श्रमिकको सुरक्षा व्यवस्था पर्याप्त नभएको र पारिश्रमिक समेत नपाएको भन्दै श्रमिक नेताहरुले यथाशीघ्र पारिश्रमिक दिनु पर्ने एवं महामारीबाट बच्न आवश्यक सुरक्षा सामाग्री समेत उपलब्ध गराउन माग गरेका छन् ।

झापामा मात्र विभिन्न चिया बगानहरुमा ५० हजार भन्दा बढी श्रमिक कार्यरत छन् ।