
वीरगन्ज, साउन २६ । वीरगन्जमा अस्पतालहरुलाई बिरामीको उपचार अस्वीकार नगर्न अन्तरिम आदेश जारी गरिएको छ ।
उच्च अदालत अस्थायी इजलास वीरगन्जले स्वास्थ्य संस्थाहरुमा उपचार गराउन गएका बिरामी तथा कार्यरत् चिकित्सकसमेतका स्वास्थ्यकर्मीको स्वास्थ्य सतर्कता अपनाएर उपचार सेवा दिन/दिलाउन कुनैपनि बहानामा इन्कार नगर्नू/नगराउनू भनी वीरगन्जका सम्पूर्ण सरकारी तथा निजी अस्पतालहरुको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ताहरु वीरेन्द्रप्रसाद यादव, रामनारायणप्रसाद कुर्मी तथा निरजकुमार गुप्ताले संयुक्तरुपमा दायर गर्नुभएको रिटमा सुनुवाइ गर्दै उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायाधीश वीरबहादुर डाँगीको एकल इजलासले सो आदेश गरेको हो ।
आदेशमा कोरोनाबाट संक्रमित व्यक्तिबाहेक अन्य रोगबाट ग्रसित व्यक्तिलाई कोरोनाको परीक्षण नै नगरी निज कोरोनाबाट संक्रमित भएको भनेर अनुमान गरेर उपचार गर्दा अन्य प्राणघातक रोगको उपचार नपाएर बिरामीको मृत्यु हुनसक्ने हुँदा सतर्कता अपनाएर उपचार सेवा दिन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्