
विनोदसिंह विष्ट (इमेज)
बैतडी, साउन २६ । बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई सोमबार अपराह्न नियन्त्रणमा लिइएको हो ।
उनीहरुले पुर्चौडीकै न्वादेउ स्वास्थ्यचौकीअन्तर्गतको नकाली नगर स्वास्थ्यकेन्द्रमा कार्यरत् २५ वर्षीया अनमी जानकी भट्ट र ३१ वर्षीया कार्यालय सहयोगी विमला कुँवरमाथि कुटपिट गरेको आरोप छ ।
दुवैजनालाई उनीहरुको घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।
‘नियन्त्रणमा लिएका दुवैजनामाथि अनुसन्धान हुन्छ । आवश्यक देखिए मुद्दा चलाउँछौं’–उहाँले भन्नुभयो ।
आइतबार स्वास्थ्यकेन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि ती युवकहरुले कुटपिट गरेको भन्दै भट्टले प्रहरीमा उजुरी दिनुभएको थियो ।
स्थानीय एक वृद्धा बिरामीलाई स्लाइन चढाइरहेका बेला युवकहरुले कुटपिट गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘वृद्धा आमा कान नसुन्ने र उहाँसँग ठूलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गालीगलौच गर्दै कुटपिट गरे ।’
युवाहरुको कुटपिटबाट भट्टको हातको औंला भाँचिएको छ । मुख, छाती र टाउकोमा चोट छ ।
अनमी भट्टसँगै कार्यालय सहयोगी कुँवरमाथि हातपात गर्नुका साथै ती दुईजनाले कार्यालयमा रहेका कागजात पनि च्यातेको बताइएको छ ।
यसैबीच, स्वास्थ्यकर्मीमाथि ड्युटीमै रहेका बेला स्वास्थ्य संस्थामै कुटपिट र दुर्व्यवहार भएकोले आफूहरु असुरक्षित रहेको न्वादेउ स्वास्थ्यचौकीका इन्चार्ज गणेश धानुकले बताउनुभयो ।
‘स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने जोसुकैलाई पनि कानुनी कारबाही हुनुपर्छ । स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बन्नुपर्छ’–उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्