
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज(मंगलबार) देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धापूर्वक मनाउँदैछन् ।
श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
आज देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय र राक्षसी प्रवृत्तिबाट मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा जन्मिनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।
जन्माष्टमीका दिन आज पाटनको मंलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण मेला लाग्दैन ।
स्थानीय जनप्रतिनिधि, पुजारी, मंगल टोल सुधार संघ, प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवाला व्यक्तिहरु बसेको बैठकले पाटन कृष्ण मन्दिर बन्द गर्ने निर्णय गरेको हो ।
यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक संघसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।
यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६४ पछि काटिएको छ ।
राष्ट्रपति भण्डारीद्वारा शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सम्पूर्ण नेपाली नागरिकको समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
श्रीकृष्ण अक्ष्टकी पर्वको अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति भण्डारीले विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज सभ्यता र सम्पन्नताका सूचक भएको बताउनुभएको छ ।
उहाँले ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकतावद्ध बनाउने विस्वास व्यक्त गर्नुभएको छ ।
उहाँले धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न पर्वहरुले मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले श्रीकृष्णजन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी सबैमा शुभकामना पनि प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्