२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


होटल, रेस्टुरेन्टमा ‘टेक अवे’मात्रै, यी हुन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु


0
Shares

काठमाडौं, साउन २७ । सरकारले १० ओटा अन्तर्राष्ट्रिय स्थलगत सीमानाकाबाटमात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ ।

यसअघि, सरकारले २० ओटा सीमानाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको थियो ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मंगलबार पत्रकार सम्मेलनमार्फत् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सुनाउँदै झापाको काँकडभिट्टा, मोरङको रानी, सिराहाको माडर, रौतहटको गौर, पर्साको वीरगन्ज, रुपन्देहीको बेहलिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, कैलालीको गौरीफन्टा र कन्चनपुरको गड्डाचौकीबाटमात्रै नेपाल प्रवेश गर्न पाइने निर्णय भएको बताउनुभयो ।

यस्तै, भदौ ३१ गते मध्यरातसम्मका लागि नेपाल प्रवेश गर्ने सबै प्रवेशविन्दुमा आवागमन स्थगित गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

यसैगरी, होटल, रेस्टुरेन्टबाट तयारी खाजा लैजान (टेक अवे)को लागिमात्रै खोल्न पाइनेछ ।

लामो दूरीका यातायात र हवाई सेवा भदौ १६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

त्यस्तै, शैक्षिक संस्था, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला सम्मेलन, सिनेमा हल, पार्टीप्यालेस, सैलुन, खेलकुद, पुस्तकालयलगायतका क्षेत्र बन्द नै रहनेछन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लाभित्र आवतजावत गर्नेबाहेक कोभिड–१९ को सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी भएका जिल्लाबाट अन्य जिल्लामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र तथा स्थानीय प्रशासनको अनुमतिमा बाहेक आवतजावत नगर्ने/नगराउने, अत्यावश्यक कार्यका लागिमात्र अनुमति प्रदान गर्ने र अनुमति प्रदान गर्दा प्रयोजन खुलाइ यात्रा गर्ने व्यक्तिको नाम समावेश गरी अनुमतिपत्र जारी गर्ने निर्णयसमेत मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

फुटपाथ/खुला ठाउँ र ठेलागाडा/साइकलमा सञ्चालन भइरहेका तरकारी, फलफूल, खाद्यान्न, लत्ताकपडालगायतका खुद्रा व्यापार व्यवसाय एवं कवाडी संकलनजस्ता कार्य जथाभावीरुपमा सञ्चालन हुन नदिने र त्यो कार्यलाई सम्बन्धित स्थानीय प्रशासनले निषेध गर्ने निर्णय पनि सरकारले गरेको छ ।

नेपाली कूटनीतिक नियोगको सिफारिसमा ३०० जना र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्नेगरी उद्धार गरिने २०० जना नेपाली नागरिकसमेत दैनिक कुल ५०० जनाको संख्यामा नबढ्ने गरी उडान अनुमति दिने निर्णयसमेत गरेको छ ।

यसरी आउने व्यक्तिहरुलाई काठमाडौं उपत्यकामा नै तोकिएका स्थानमा ‘क्वारेन्टिन’मा राख्ने व्यवस्था मिलाउने र संक्रमणमुक्त भएको यकिन भएपछिमात्र सम्बन्धित गन्तव्यमा पठाउने व्यवस्था गर्नेलगायतका विभिन्न निर्णयहरु मन्त्रिपरिषद्को सो बैठकले गरेको छ ।

निर्णयहरु पढ्नोस्