
काठमाडों । रूसले मान्यता दिएको कोरोना भाईरसविरुद्धको खोपको तेस्रो चरणको परिक्षण हुन बाँकी नैं रहेको दावी अमेरिकाले गरेको छ ।
अमेरिकाका स्वास्थ्य मन्त्री एलेक्स एजारले रुसले खोपजस्तो गम्भिर विषयमा समेत हल्का राजनीतिक प्रचारबाजी गर्न खोजेको आरोप लगाएका हुन् ।
अहिलेको प्रतिस्पर्धा कसले सबभन्दा पहिला खोप ल्याउँछ भन्दापनि कति सुरक्षित र प्रभावकारी खोप ल्याउछ भन्ने रहेको उहाँको भनाई छ ।
रुसी राष्ट्रपतिले मान्यता दिएको घोषणा गरिएको खोपको तेस्रो चरणको मानविय परिक्षण हुनै बाँकी रहेको अमेरिकी दावी छ ।
रुसी राष्ट्रपति पुटिनले हिजो कोरोना भाइरसविरुद्धको खोप अनुमोदन गर्ने रूस पहिलो मुलुक भएको घोषणा गरेका थिए ।
क्लिनिक परीक्षण पूरा नहुँदै औपचारिक घोषणा गरिएको यो खोपलाई लिएर अन्तर्राष्ट्रिय वृत्तमा चासो बढेको छ विश्व स्वास्थ्य संगठनले पनि खोपको सुरक्षा र प्रभावकारिताका लागि परीक्षणको नियमित विधिबाट बाहिर नजान गत साता रूसलाई सचेत गराएको थियो ।
त्यसका बाबजुद राष्ट्रपति पुटिनले मंगलबार खोप घोषणा गर्नुभएको हो । यो खोप निर्माण रूसको गामालेया इन्स्टिच्यूटले गरेको हो ।
संसारभरि अहिले १ सय ६५ थरीका कोरोना खोप निर्माणको क्रममा छन् । ती मध्ये ३० भन्दा बढी खोपमाथि विभिन्न चरणको मानवीय परीक्षण भईरहेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्