
-नारायण पौडेल
विश्वयुद्धकै झल्को दिने गरी कोरोना भाइरस अहिले विश्वव्यापी यात्रामा हिँडिरहेको छ र संक्रमणको दर दिनानुदिन तीव्र पनि बनिरहेको छ । औपचारिक रुपमा गत डिसेम्वर पहिलो साता चीनको बुआन प्रान्तमा देखिएको कोरोना भाइरस आफ्नो उदगमस्थल छोडी नयाँ नयाँ गन्तव्यहरुमा फैलिरहेको छ । यसबाट नेपाल पनि अछुतो बन्न सकेन र गत माघ १० गते पहिलोपटक नेपालमा देखिएको कोरोना संक्रमण अहिले समुदायस्तरमा समेत फैलिसकेको छ । तर भाइरस संक्रमणले महामारीको रुप लिन लागिरहेको वर्तमान अवस्थामा नेपाल सरकार भने संक्रमण नियन्त्रणमा मौनजस्तो देखिन्छ ।
कोरोना भाइरसको सन्दर्भमा अहिलेसम्म वास्तविक तथ्य पत्ता लागेको छैन र यस भाइरसको उत्पत्ति, फैलावट, असर र नियन्त्रण आजसम्म पनि अनुमानकै भरमा बताईने गरिएको छ । खासगरी संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै गएका कारण भाइरस विश्वव्यापीरुपमा प्रसार हुँदै गएको भनिएपनि एक व्यक्तिबाट अर्को व्यक्तिमा यसरी नै सर्दछ भन्ने तथ्य समेत एकिन छैन ।
मानिसको र्याल, हाछ्युँ गर्दा या खोक्दा मुखबाट निस्कने भाइरस अर्को व्यक्तिको मुखमा प्रवेश गर्दा भाइरस सर्न सक्ने, हात मिलाउँदा, अंकमाल गर्दा, एउटै वस्तु धेरै व्यक्तिले प्रयोग गर्दा, भीडभाडमा जाँदा मास्क नलगाउँदा, साबुनपानीले पटक पटक हात नधुँदा, माछा मासुजन्य पदार्थहरु राम्रोसँग नपकाई खाँदा जस्ता कारणहरुले भाइरसको आक्रमण सहज हुने बताईएको छ ।
त्यस्तै अत्यधिक ज्वरो आउने वा टाउको दुख्ने, रिंगटा लाग्ने, रुघाखोकी लाग्ने, छाति दुख्ने, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जाने जस्ता लक्षणहरु कोरोना भाइरसका कारण देखिन्छन् भनिएपनि अहिले यस्ता कुनैपनि लक्षणहरु नदेखिएका व्यक्तिहरुमा समेत कोरोना भाइरस संक्रमण भएको पुष्टि हुँदै गएको छ ।
नेपालको सन्दर्भमा त व्यक्तिको मृत्युपछि हुने कोरोना भाइरसको पिसिआर परिक्षण पोजेटिभ देखिएपछि मात्रै कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको भन्ने कुरा पुष्टि हुँदै आएको छ । यस्तो संवेदनशील परिस्थितीमा समेत नेपाल सरकार र सरोकारवाला निकायहरुको गम्भीर ध्यान जान सकिरहेको छैन ।
अर्कोतर्फ फ्रन्टलाईनरको रुपमा कार्यरत चिकित्सक, पत्रकार, तल्लो दर्जाका प्रहरी कर्मचारी, ड्राईभरहरुमा अहिले कोरोना भाइरस संक्रमण बढी देखिनुका साथै विभिन्न सार्वजनिक निकायहरुमा कार्यरत कर्मचारीहरुमा समेत संक्रमण पोजेटिभ देखिन थालेको छ ।
यस्तो अवस्थामा सर्वसाधारण जनताहरु भाइरस संक्रमणको खतराले आतंकित बनिरहेको बेला सरकार भने मुकदर्शक बनिरहेको छ । करिब दुईतिहाइ बहुमत प्राप्त वर्तमान वामगठबन्धन सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु अहिले कसरी सत्ता हडप्ने भन्ने ध्याउन्नमा बाहेक अन्यत्र सोच्न समेत फुर्सद राख्दैनन् ।
प्रधानमन्त्री ओली बेसार र तातोपानी पिउने, हाछ्युँ गर्ने अनि कोरोना भगाउने मूलमन्त्र दिनहुँजसो उच्चारण गर्न तल्लीन रहेका छन् भने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथाकथित जनयुद्ध र आफ्नै प्रशंशा गरिरहनमा नै व्यस्त देखिन्छन्, जो नेपालमा कोरोना भाइरस संक्रमण देखिए लगत्तै करिब एकमहिना सम्म होम क्वारेन्टाइन/आइसोलेसनमा समेत बसेका थिए, उनलाई कोरोना संक्रमणको चिन्ता भन्दापनि प्रधानमन्त्री र पार्टी अध्यक्ष पदको ठूलो चिन्ता छ । यसरी सँधैजसो आफ्नै चिन्तामा भईरहने नेतालाई देश र जनताको चिन्ता हुने कुरा नै भएन । सायद त्यसैले होला कोरोना भाइरस संक्रमणको बिषयमा पुष्पकमल दाहाल प्रचण्ड अहिलेसम्म खासै बोलेका छैनन् ।
कोभिड १९ को यो महामारीलाई शुरुवातबाटै हेर्दा सम्भवतः नेपाल सरकार विश्वभरिमा नै गैरजिम्मेवार भएजस्तो देखिन्छ । किनकी उचित समयमा नै सिमा नाका बन्द नगर्नु, मापदण्ड अनुसारको क्वारेन्टाइन, आइसोलेसन, भेन्टिलेटर निर्माणमा ध्यान नदिनु, राहतका कुनैपनि प्याकेजहरु नल्याउनु, संक्रमण र संक्रमित उपर धज्जी उडाउनु, भगवान र औषधीजन्य उपभोग्य वस्तुहरुको नियमित सेवनलाई संक्रमण रोक्ने अस्त्र ठान्नु, स्वास्थ्य सामाग्री खरिदमा अन्योल, अनियमितता र ढिलासुस्ती गर्नु, कोरोना महामारी नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन नगर्नु, सबै जनताहरुको पिसिआर परिक्षण गर्नुपर्नेमा बेवास्ता गरिरहनु लगायतका नियतहरुबाट चरम लापरवाही भएको प्रष्ट देखिन्छ ।
अहिले देश र जनताको हितमा काम गर्न, कोरोना संक्रमणको कारण थलिएको समाज र अर्थतन्त्रलाई उकास्न, बाढी, पहिरो र डुबानबाट पिडित जनताहरुको उद्धार गर्न सरकारलाई कसैको अंकुश छैन । किनकी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस सरकारको सारथी बनिरहेको छ भने आन्तरीक विवादलाई केहिसमयको लागि थाँति राख्दै नेकपा पार्टी एकजुट हुने हो भने महामारीका कारण पिल्सिएका जनताहरुले थोरबहुत राहतको महशुस गर्न सक्ने थिए । तर सत्तासिन दल नेकपा मुलुकमा लकडाउन जारी हुनुभन्दा पहिलादेखि नै चरम विवादमा डुबिरहेको र प्रमुख प्रतिपक्ष दलले पनि कोरोना महामारी नियन्त्रणका लागि खासै प्रभावकारी उपाय सुझाउन नसकेको वर्तमान अवस्थामा अब राजनीतिक दल, नेता तथा सरकारको भरोसामा बसिरहने हो भने थेग्नै नसक्ने परिस्थितीको सामना गर्नुको अर्को विकल्प नेपाली जनताहरुसँग हुने छैन ।
जनताको जीउधनको सुरक्षा गर्ने प्रमुख अभिभारा सरकारको हो । तर नेपाल सरकार अहिले सरकारकै सुरक्षा कसरी गर्ने भन्ने असुरक्षामा फसेको छ । तथापी सरकारको सुरक्षा गर्नको लागि आफ्नै दलभित्रको विवाद समाधान गर्ने हो भने कसैको मुख ताकिरहनु नै पर्दैन । यस्तो अवस्थामा संघीय संसदमा प्रतिनिधित्व गर्ने सत्ताधारी दल नेकपाका ६१ जना सांसदहरुलाई कुनैपनि हालतमा पार्टी फुटाउन नदिने सद्बुद्धि पलाएछ । तर कोरोना महामारीबाट जनताहरुलाई कसरी बचाउने भन्ने बुद्धि पलाउँछ कि पलाउँदैन ?
मानिसको जीवन रहे पार्टी, राजनीति, सरकार भन्ने कुरा भोलीका दिनहरुमा पनि व्यवस्थित बनाउन सकिन्छ । यहाँ त सर्वसाधारण जनताहरुको प्राण नै रहने कि नरहने भन्ने परिस्थिती निर्माण भईसक्दा पनि राज्य सञ्चालनको जिम्मेवारी लिएकाहरुबाट कुनै पहलकदमी भएकै देखिँदैन किन ?
स्वभावैले हामी कमजोर आर्थिक अवस्था भएको मुलुकका बासिन्दा हौं र आर्थिक स्थिती मजबुद भएका देशहरुमा जस्तो सहज हाम्रा लागि पक्कै हुँदैन । तर मुलुकको आर्थिक अवस्था, स्रोत साधनको उपलब्धता, सामाजिक तथा भौगोलिक अवस्था लगायतका पक्षहरुलाई मध्यनजर गर्दै प्राकृतिक तथा जैविक विपत्तिहरुबाट बच्न हामीले फरकखालको नीति अख्तियारी गर्नैपर्दछ । किनकी अहिलेको यो बिषम परिस्थितीमा हामीसँग पर्याप्त स्वास्थ्य सामाग्री, सुविधा सम्पन्न अस्पताल र अस्पतालहरुमा सबै जनताहरुको सहज पहुँचजस्ता कुराहरुको अभाव छ । तथापी हामीसँग कम भन्दा कम जनधनको क्षति हुनेगरी आवश्यक स्वास्थ्य तथा आर्थिक नीति तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्नु गराउनु पर्ने थियो, गरिएन ।
हुनत कोरोना महामारीको संक्रमणले हामीलाई मात्रै आक्रमण गरेको होईन, सम्पूर्ण विश्व नै आक्रान्त र क्षतिग्रस्त बनिरहेको छ । यस्तो अवस्थामा संक्रमणबाट उत्पन्न क्षतिलाई न्यूनीकरण गर्ने दायित्व भने हामीमा नै निर्भर हुनेछ । त्यसैले सकेसम्म अधिकतम विकल्पहरुको प्रयोग गरी समयमा नै क्षतिलाई कम गर्नतर्फ हामीलाई सफलता मिल्न सकेमा भोलीका दिनहरु केही सहज भने हुनेछन् ।
संक्रमण नियन्त्रणका लागि अहिले सरकारले चाल्ने कुनै कदमबाट केहीसमय समग्रमा राज्यलाई केही नोक्सानी त होला । तर भोलीका दिनमा जनताहरुले संक्रमणबाट छिटै उन्मुक्ति प्राप्त गरी खुशीयाली मनाउने दिन ल्याउन सकिन्छ भने सरकारले केही कठोर कदमहरु चाल्न पनि जरुरी देखिन्छ ।
सरकारको नेतृत्वकर्तालाई उखान टुक्काले अझैपनि छोडेन । फलस्वरुप अस्पताल निर्माणमा चिन्तित हुनुपर्नेमा भगवान रामको मन्दिर निर्माणमा अग्रसरता देखाउन स्थानीय सरकारलाई सुझाउँदै छन् । आफ्नै पार्टीभित्रबाट राजीनामाको माग उठिरहेका बेला र वर्तमान सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लागिरहँदा पनि प्रधानमन्त्री पद छोड्ने मनस्थितीमा देखिँदैनन् । हुनत ओलीले पद छोड्दैमा समस्याको समाधान हुने पनि होईन ।
किनकी प्रधानमन्त्री पदका मुख्य दाबेदारहरु यसअघि नै सो पदमा राज भईसकेका व्यक्तिहरु हुन् र उनीहरुबाट पनि मुलुकले नयाँ काम र कुरा केही पनि प्राप्त नगर्ने निश्चित छ । तर त्यही प्रधानमन्त्री पदमा पुग्नका लागि नेकपाभित्र ठूलो रडाको चलिरहेको छ । यस्तो संवेदनशील अवस्थामा पदीय रडाकोलाई केहीसमय स्थगन गरी अभावमा लडिरहेका जनताहरुलाई राहत दिन अग्रसरता देखाउँदा पो जनतालाई पनि सरकार भएको अनुभूति हुने थियो होला ।
मुलुक नेकपाको विर्ता होईन, हुनुहुँदैन । सबै नेपाली जनताहरुको बलिदानीपूर्ण संघर्ष सहितको इतिहास भएकोले अहिलेसम्म स्वतन्त्र राष्ट्रका रुपमा जिवित भएको देश नेपाल हो । यसर्थ सम्पूर्ण नेपाली नागरिकहरुलाई आफ्नो बाँच्न पाउने अधिकारको ग्यारेण्टी संविधानले समेत गरेको छ । तर शासकहरु सर्वसाधारण जनताहरुको दुःखपिडामा जहिलेपनि रमिते बनेको हाम्रो इतिहास छ ।
के नेपालका सम्पूर्ण परिवर्तनहरु शासक र शासित वर्गहरुको वीचमा जहिलेपनि दुरी बढाउनको लागि मात्रै भएका हुन् ? हिजो सशस्त्र युद्धका नाईके कहलिएका व्यक्ति आज तिनै जनताहरु धमाधम संक्रमित र पिडित भईरहँदा निमुखा जनताहरुको पक्षमा आवाज किन निकाल्दैनन् ? उच्चपदस्थ व्यक्तिहरुको क्षणभरमा कोरोना परिक्षण हुने र रिपोर्ट आउने, तर सर्वसाधारणले परिक्षण समेत गर्न नपाउने परिस्थिती कहिलेसम्म रहला ? (लेखक अधिवक्ता हुन्) ।
प्रतिक्रिया दिनुहोस्