
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
गएराति ललितपुर, सप्तरी, सुनसरी र रुपन्देही जिल्लामा एक एक जनाको मृत्यु भएपछि नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८७ पुगेको छ ।
ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
मृतक जनकपुरकी २८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नंबर ८ घर भई राजविराज बस्दै आएका ७५ वर्षीय बृद्धको गएराति मृत्यु भएको हो ।
चार दिनदेखि ज्वरो आएपछि कोरोना परीक्षण गर्दा उनको रीपोर्ट पोजेटीभ आएको थियो ।
संक्रमण पुष्टी भएपछि शाहि कृष्ण अस्पतालको आईसोलेसनमा लैजाने क्रममा उनको एम्बुलेन्समै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
मृतकलाई यसअघि मुटु सम्बन्धी रोग सहित थाईराईड, सुगर र उच्च रक्तचाप थियो । यो संगै सप्तरी जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संखया ३ पुगेको छ ।
उता, सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङको बुढिगंगा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
यसैगरी बुटवलमा पनि गएराति एक संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानाको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुमा ४२ बर्षीय पुरुषको मृत्यु भएको हो ।
गत आइतवार अस्पताल भर्ना गरिएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । बुटवलमै गएराति मृत्यु भएका अर्का एक युवकको भने कोरोना परिक्षणको रिपोर्ट आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्