
लक्ष्मीप्रसाद सापकोटा (इमेज)
पर्वत, साउन २८ । पर्वतको मोदी गाउँपालिकामा गएको चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।
१४.८ मेगावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्रमा जडित स्थानीयस्तरमा विद्युत् वितरण गर्ने ट्रान्सफर्मरमा खराबी आएपछि सेवा अवरुद्ध भएको हो ।
मोदी गाउँपालिकाका आठओटा वडा र कुश्मा नगरपालिकाको वडा नम्बर–१४, आर्थर डाँडाखर्कमा वितरित विद्युत् प्रसारणलाइनको ट्रान्सफर्मर जलेका कारण गएको आइतबारदेखि विद्युत् सेवा ठप्प बनेको हो ।
स्थानीयस्तरमा वितरण गर्नका लागि उत्पादनगृहमा जडित तीन एमभीए क्षमताको ट्रान्सफर्मरमा खराबी आएपछि विद्युत् अवरुद्ध भएको मोदीखोला जलविद्युत् केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिनुभयो ।
उहाँकाअनुसार ट्रान्सफर्मर पुरानो हुँदा पटक–पटक समस्या आउने गरेको छ ।
बस्नेतकाअनुसार १५ एमभीए क्षमताका दुईओटा मेन ट्रान्सफर्मर भने नियमितरुपमा सुचारु भएका छन् ।
केन्द्रीय प्रसारणलाइनमा जडित विद्युत्मा कुनै समस्या नभएपनि प्रभावित क्षेत्रका बासिन्दाका लागि वितरण गरिएको ३३/११ केभीएको ट्रान्सफर्मरमा खराबी आएको बस्नेतले बताउनुभयो ।
केन्द्र प्रमुख बस्नेतकाअनुसार खराबी आएको ट्रान्सफर्मर मर्मतका लागि आयोजनकै प्राविधिक र पोखराबाटसमेत प्राविधिक मगाएर प्रयास गरिएपनि सम्भव नभएपछि नयाँ ट्रान्सफर्मर जडान गर्नका लागि पहल भइरहेको छ ।
छिमेकी जिल्ला बागलुङ वितरण केन्द्रमा रहेको तीन एमभीए क्षमताको ट्रान्सफर्मर ल्याएर जडान गर्ने प्रयास भइरहेको बताउँदै केन्द्र प्रमुख बस्नेतले कम्तीमा बिहीबार बेलुकासम्मबाट विद्युत् सेवा सुचारु हुने जानकारी दिनुभयो ।
‘नयाँ जडान गर्ने ट्रान्सफर्मरमा कुनै समस्या नभएमा बिहीबार साँझसम्म विद्युत् लाइन सुचारु हुन्छ । अन्यथा, केही दिन लाग्नसक्छ’–बस्नेतले भन्नुभयो ।
नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख ललितनाराण झाले अवरुद्ध विद्युत् सेवा सुचारु गर्नका लागि पहल भइरहेको बताउनुभयो ।
विद्युत् सेवा अवरुद्ध हुँदा दुई हजार ५०० भन्दा बढी ग्राहकहरु अन्धकारमा बस्न बाध्य भएको उहाँले बताउनुभयो ।
उहाँले नयाँ ट्रान्सफर्मर परिवर्तन गर्नका लागि प्राविधिकहरुलाई परिचालन गरिएको जानकारी दिनुभयो ।
जिल्लामै जगेडा ट्रान्सफर्मर नहुँदा समय लागेको र बिहीबारसम्म विद्युत् सेवा सुचारु हुने उहाँको भनाइ छ ।
लामो समयसम्म विद्युत् सेवा कटौती भएको भन्दै मोदी गाउँपालिकाका बासिन्दाहरु असन्तुष्ट बनेका छन् । उनीहरुले तत्काल मर्मत गर्नसमेत माग गरेका छन् ।
विद्युत् सेवा अवरुद्ध हुँदा दुग्ध डेरी, फर्निचर उद्योग, कुखुरा फार्मलगायत विभिन्न साना उद्योगहरु प्रभावित बनेको मोदी गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष विमल लामिछानेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्