
प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, साउन २८ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण निकै डरलाग्दो तवरले फैलिँदै गएको छ ।
साउन महिनायता बढ्दै गएको संक्रमणका कारण स्थिति भयावह आउनसक्ने संकेत देखाएको छ ।
संक्रमण देखिएको चार महिनाको अवधिमा काठमाडौं उपत्यकामा ३२८ जनामात्र कोरोना संक्रमित थिए ।
तर, बन्दाबन्दी खुलेको साउन ७ गतेयता २० दिनमा यो संख्या बढेर एक हजार ४५२ पुगेको छ । हाल काठमाडौं जिल्लामा मात्र एक हजारमाथि संक्रमित छन् ।
‘लकडाउन’ खुलेसँगै बढ्न थालेको संक्रमितको संख्या दिनहुँ उकालो लाग्नेक्रममा छ ।
साउन २७ गते काठमाडौंमा ११० सहित उपत्यकामा १३४ जनामा संक्रमण पुष्टि भयो । २८ गते १३८ जनामा संक्रमण देखियो । यो संख्या उपत्यकामा संक्रमित भेटिन थालेपछि अहिलेसम्मकै उच्च हो ।
साउन २३ गते १२४ जना संक्रमित फेलापरेका थिए भने २१ गते १०२ जना संक्रमित भेटिएका थिए । उपत्यकामा अहिले १२ सय ६० जना सक्रिय संक्रमित छन् ।
उपत्यकामा संक्रमण प्रहरी हेडक्वार्टरदेखि, अख्तियार, नेताका सुरक्षाकर्मी, व्यापारिक क्षेत्र हुँदै सर्वसाधारणसम्म फैलिसकेको छ ।
संक्रमितमध्ये ६० प्रतिशत आयातित नै रहेको जनाइएको छ । जसमा बारा, पर्सा र भारतबाट आएका बढी छन् ।
यो फैलावटलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका विज्ञहरुले निकै डरलाग्दो रहेको बताउँछन् ।
सुरुका केही दिन आयातित ‘केस’ रहेतापनि हाल संक्रमण दोस्रो–तेस्रो चरणमा प्रवेश गरिसकेको उनीहरुको भनाइ छ ।
परिवारको कुनै सदस्यमा देखिएको संक्रमण एकपछि अर्को व्यक्तिमा सर्दैछ । जसले अबको अवस्था निकै चुनौतीपूर्ण हुने विज्ञहरुले चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्