
नरेन्द्र मानन्धर, सानु माली र सुन्दर गुरुङ (इमेज)
काठमाडौं, साउन २८ । रानीपोखरी सम्पदा पुर्खाको ज्ञानको नमुना हो । पोखरी निर्माण प्राकृतिकरुपमा हुनु र प्राकृतिक जलप्रणालीमार्फत् नै गरेर पुर्खाले प्रकृतिमैत्री विकास गरेको प्रमाण हो ।
रानीपोखरीमा पानी भरण र शुद्धीकरणका लागि सहायक पोखरीहरुसमेत बनाएको देखिन्छ ।
जामे मस्जिद र पञ्च काश्मिरी तकियाभित्र रहेका पोखरीहरु कुनैबेला प्राकृतिक पोखरीको रुपमा रहेका थिए । त्यतिबेला पोखरीमा माछासमेत हुने गर्दथे ।
जामे मस्जिदका अध्यक्ष अब्दुल समिमकाअनुसार यी पोखरीहरुमा रानीपोखरीको पानी आउने डुँडसमेत थियो ।
करिब १५ वर्षअगाडिमात्र धार्मिक प्रयोजनका लागि मार्बल छापेर पोखरी पुनःनिर्माण गरेको उहाँको भनाइ छ ।
परम्परागत जलप्रणाली र पोखरी संरक्षणविज्ञहरुकाअनुसार यी पोखरीहरु रानीपोखरीको पानी शुद्धीकरणपछि बढी भएको पानी बाहिर निस्केर जम्मा हुने ठाउँ हो । यही पोखरी प्रणालीमार्फत् पानी इच्छुमती खोलामा गएर मिसिने उनीहरुको भनाइ छ ।
परम्परागत जलप्रणालीविद् पद्यसुन्दर जोशी रानीपोखरी वरिपरि रहेको भौगर्भिक जल अवस्थाको अध्ययन हुनु आवश्यक भएको बताउनुहुन्छ । प्राकृतिकरुपमा पानी भित्रिने र बाहिरिने प्रणालीको पनि संरक्षण हुनुपर्ने उहाँको भनाइ छ ।
कमलाती हाल कमलादीमा रहेको पोखरीमा समेत रानीपोखरीको पानी जम्मा हुन्थ्यो । जुन भूमिगत पानी प्रणालीको अभिन्न अंग थियो । तर, हाल यो पोखरी नयाँ बनेको छ, मार्बलसहितको ।
रानीपोखरीको चारै कुनामा हिति (धारा) थियो । तर, हाल तीनधारास्थित सोपु हितिमात्र अस्तित्वमा रहेको छ । जहाँ अहिलेपनि पानी जमेको देख्न सकिन्छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग रानीपोखरी बचाउने योजना नै नभएको दाबी पोखरी संरक्षणविज्ञ सुशील श्रेष्ठ गर्नुहुन्छ ।
हाल रानीपोखरीमा आकाशेपानीबाटै करिब दुई फिट पानी भरिइसकेको छ । त्यसैले प्राकृतिक भूमिगत जल र आकाशेपानी संकलन गरेर रानीपोखरी भर्न र वरिपरि रहेका पोखरी र हितिहरुको पनि उचित संरक्षण हुन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्