२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओलीका अनेक फन्डा !


0
Shares

kp oli cabinet reform

अक्कल कुँवर (इमेज)

काठमाडौं, साउन २९ । आफूमाथि संकट आएपछि प्रधानमन्त्री एंव सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अनेक फन्डा झिक्ने गर्नुभएको छ ।

आफूले ल्याएका कतिपय फन्डाले इतरपक्ष तितरबितर नै हुने गरेका छन् भने कतिपय फन्डाले आफैंलाई अप्ठ्यारो पर्ने गरेको छ ।

पछिल्लो समय प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छाड्नैपर्ने इतरपक्षको अडानका कारण अप्ठ्यारोमा पर्नुभएका अध्यक्ष ओलीले अनेक फन्डा झिक्न भने छोड्नुभएको छैन ।

बैठकका लागि तय गरेका एजेन्डाविपरीत गत असार १० गते नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुग्यो ।

तत्काल आफ्नो राजीनामाको माग नउठ्नेमा ढुक्क रहनुभएका ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने अप्रत्याशित मागलाई निस्तेज पार्न विभिन्न खेल खेलिरहनुभएको छ ।

इतरपक्ष राजीनामाको मागबाट पछि नहट्ने देखेपछि प्रधानमन्त्री ओलीले अनौपचारिकरुपले पार्टीका प्रभावशाली नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बन्न प्रस्ताव गर्नुभयो ।

उक्त प्रस्तावले आफूविरुद्धको विरोध कम गर्न असफल भएपछि प्रधानमन्त्री ओलीले पार्टीका शीर्ष पाँचजनाबाहेक अन्यलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभयो । तर, उक्त प्रस्तावले इतरपक्ष झन् चिढियो ।

अनेकन प्रस्ताव ल्याउँदापनि आफूमाथिको समस्या घट्नुको सट्टा झन् बढ्न थालेपछि ओलीले पार्टीको ‘अर्ली’ महाधिवेशनको अर्को फन्डा ल्याउनुभयो । उक्त प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहालले मौन समर्थन त दिनुभयो तर ओलीइतर समूहभित्रै वैमनस्यतासम्मको अवस्था सृजना भयो ।

अर्ली महाधिवेशनको प्रस्तावसँगै राष्ट्रपतिलाई ‘साक्षी’ राखेर अध्यक्ष ओलीले पार्टीको वैचारिक सिद्धान्त ‘जबज’ मानेर नेतृत्व लिन प्रस्ताव गर्नुभयो ।

उक्त प्रस्तावले झस्किएका अर्का अध्यक्ष दाहाल र ओलीइतर समूहले अर्ली महाधिवेशनको प्रस्ताव विषयान्तर गर्ने अस्त्रमात्र भएको बुझेपछि ओलीको उक्त फन्डा पनि निष्प्रभावि हुन पुग्यो ।

दुवै पक्ष आफ्नो अडानबाट पछि नहटेपछि अध्यक्षद्वय ओली र दाहालबीच पछिल्लो समय झन्डै नौ दिन संवादहीनताको अवस्था आयो ।

यसबीचमा ओलीले आफूनिकट नेताहरुमार्फत् अर्का अध्यक्ष दाहाललाई एकता महाधिवेशन मूल आयोजक समितिको नेतृत्व लिन प्रस्ताव गर्नुभएको छ । उक्त प्रस्तावबारे औपचारिक छलफल भने भएको छैन ।

ओलीको पछिल्लो फन्डा आन्तरिक समस्या समाधानका लागि हो या इतरपक्षलाई कमजोर पार्ने अस्त्रमात्र हो, त्यो भने आगामी दिनले देखाउनेछ ।

त्यसो त बुधबार एक टेलिभिजनमा अन्तर्वार्ता दिनेक्रममा अध्यक्ष ओलीले पार्टीभित्रको विवाद आगामी सोमबारभित्र समाधान हुने र पार्टीमा नयाँ परिवर्तन हुने बताएसँगै साउन २० गतेदेखि दाहालसँगको संवादहीनता अन्त्य भएको छ ।

बिहीबार अध्यक्षद्वयबीच पार्टीभित्रको विवाद समाधानका लागि छलफल भएको छ ।

भिडियो हेर्नुहोस्