
बिराज रोस्यारा (इमेज)
कैलाली, साउन २९ । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत् तीनजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा बिहीबार उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुसार ४२, ४२ र ४४ वर्षीय प्रहरी कर्मचारीमा कोरोना देखिएको हो ।
२० जना प्रहरीको परीक्षण गरिएकोमा तीनजनामा संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।
उहाँकाअनुसार संक्रमण पुष्टि भएका प्रहरी अहिले ‘आइसोलेसन’मा छन् । संक्रमण देखिएका प्रहरीको दर्जा भने खुलाइएको छैन ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले योसँगै सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या १६ पुगेको जानकारी दिनुभयो ।
प्रदेश प्रहरी कार्यालयकाअनुसार बाजुरामा छ, कञ्चनपुरमा पाँच, कैलालीमा तीन र अछाममा दुईजना प्रहरीमा संक्रमण पुष्टि भएको हो । जसमध्ये १२ जना कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्