२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुपाल्चोक पहिरो: घाइते चार जनाको हेलिकप्टरबाट उद्धार (अपडेट)


0
Shares

सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो जाँदा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि चौतारा ल्याइएको छ ।

सेनाको हेलिकप्टरले चौताराबाट सुरक्षाकर्मी उद्धारका लागि घटनास्थल लगेको थियो । सो हेलिकोप्टरले गम्भीर घाइते दुई पुरुष र दुई महिलालाई उपचारका लागि सदरमुकाम चौतारा ल्याएको हो ।

घाइते वर्ष २३ का पासाङ दोङ्ग, वर्ष ३ का रुप बहादुर दोङ्ग, वर्ष ६० की केवरिङ दोङ्ग र वर्ष ४३ की जुनु दोङ्गको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । उनीहरुको जिल्ला अस्पताल चौतारामा उपचार भइरहेको छ ।

घटनास्थल जान लागेका सभामुख अग्नि प्रसाद साकोटाले चौतारामा बसेर उद्धारका लागि सुरक्षाकर्मी पठाउनुभएको थियो ।

घटनामा कम्तीमा ३६ बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् । लिदीको लामाचौरमा बस्ती भन्दा कम्तीमा ४ सय मिटर माथिबाट आएको पहिरोले २८ घर पुरेको स्थानीयको भनाई छ ।

आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोमा परेकाको उद्धारमा समस्या भएको छ । माथिबाट पहिरो आइरहेको र तलबाट जमिन भासिने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको स्थानीयले बताएका छन् ।