१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लिदी पहिरोमा बेपत्तामध्ये ११ जनाको शव फेला


0
Shares

sindhupalchwok

चौतारा, साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर–२, लिदीस्थित लामाटोलमा शुक्रबार बिहान गएको पहिरोबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ ।

मृत्यु हुनेमा चार पुरुष, दुई महिला र पाँच बालक छन् ।

मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

बेपत्ता २७ जनाको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीले खोजी जारी राखेको प्रहरीले जनाएको छ ।

पहिरोले २७ घर पुरेको थियो ।

घटनास्थलबाट घाइतेको उद्धार गरिएको थियो । घाइतेमध्ये रुपबहादुर दोङ, जानुमाया दोङ, पासाङ दोङ र केवरिङ तामाङसमेत चारजनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरी चौतारा अस्पतालमा उपचार गराइएको छ ।

गम्भीर घाइते यामुल्हामु दोङको मनाङ एअरको हेलिकोप्टरमार्फत् उद्धार गरी नयाँबानेश्वरस्थित नेपाल निजामती अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, गृहमन्त्री रामबहादुर थापा शुक्रबार अपराह्न राहत सामग्रीसहित घटनास्थल पुगी घटनाकाबारेमा जानकारी लिनुभयो ।

राहत सामग्रीमा त्रिपाल, म्याट, लत्ताकपडा तथा खाद्य सामग्री रहेको प्रहरीले जनाएको छ ।

त्यसअघि, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगी घटनाकाबारेमा जानकारी लिइ फर्कनुभएको थियो ।

लिदीमा राहत
३८ जनालाई पुर्नेगरी पहिरो आएको जुगल गाउँपालिका–२, लिदीमा राहत पुर्‍याइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालका लागि लिदीबासीमाझ राहत सामग्री पुर्‍याएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिले लिदीका पहिरोपीडितलाई विभिन्न राहत सामग्री प्रदान गरेको छ ।

ती सामग्रीमा नीलो चिनियाँ पाल ४० थान, भाँडावर्तन, मिनि ब्ल्यांकेट, पहेंलो त्रिपाल, म्याट्रेस, बाल्टिन ढकनसहित ४० थान, प्लास्टिक जग ४० थान, ग्यालिन ६० थान र पञ्जा ४० थान वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । रासस