
-डम्मर बुढा मगर/ईमेज
बाग्लुङ । धौलागिरी अञ्चल अस्पतालको भवन १४ वर्षदेखि अलपत्र बनेको छ ।
स्वास्थ्य सेवालाई प्रभावकारी र चुस्त पार्नको लागि अस्पतालको स्तरवृद्धि गर्न थालिएको १४ वर्षसम्म भवन निर्माण नहुँदा जनता चकित बनेकाछन् ।
भवन निर्माण नहुँदा सेवाग्राही मर्कामा मात्र परेका छैनन स्वास्थ्य सम्बन्धि उनीहरुको सेवासमेत कुण्ठीत भएको छ ।
जनतालाई स्वास्थ्य सेवा दिने अस्पताल आफैं सेवा पाउन नसक्दा बिरामी झै देखिएको छ ।
अस्पताल बनाउने भनेर लथालिङ्ग बनाईएको भवन निर्माण सामाग्री यत्रतत्र हुँदा अस्पताल आफैले सेवा खोजि रहेको भान गराउँछ ।
एक सय वेड रहेको अस्पतालमा सरकारले थप एक सय बढाएर दुई सय वेडको बनाउने घोषणा गरेपनि १४ बर्ष बित्दासमेत घोषणामै सिमति भएको छ ।
एकापट्टी सरकारले अस्पतालको स्तरवृद्धि गर्नेमा जोड दिने र अर्को पट्टि भवन निर्माण अलपत्र पार्ने ठेकेदारलाई कारवाही नगर्नुले सरोकारवाला निकाय र ठेकेदार कम्पनी माथि जनताले शंका उत्पन्न गर्न गर्न थालेकाछन् ।
आशिष, मिलिनियम र भिम ज्योती निर्माण कम्पनीले भवन निर्माणको लागि ११ करोड ३५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
भवन सम्पन्न गर्नका लागि विभिन्न समयमा म्याद थप गरिँदै आए पनि निर्माण कम्पनीले भवन सम्पन्न गर्न सकेको छैन ।
दुई सय बेडको बनाउने भनेर सी ब्लकको भवन निर्मण थालेको यतिका बर्ष सम्म नबन्दा सेवा प्रवाह गर्न समस्या भएको धौलागिरी अञ्चल अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले बताउनुभयो ।
यसरी स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा ठेकेदार कम्पनिले अटेर गर्नु र सम्बन्धित निकायले बेवास्ता गर्नुले आम नागरिकमाथि असर परेको छ ।
सरकारले स्वास्थ्य क्षेत्रलाई चुस्त र प्रभावकारी बनाउने भनेर ओठे भक्ती देखाउने मात्र भन्दा पनि कार्यान्वयनमै प्रभावकारीता ल्याउनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्