
नयाँदिल्ली, साउन ३१ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीनओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिनुभएको छ ।
कोरोनाविरुद्धको खोप बनाएका वैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापकरुपमा खोपको उत्पादन गरिने पनि मोदीले बताउनुभयो ।
देशको ७४औं स्वतन्त्रता दिवसका अवसरमा सम्बोधन गर्दै उहाँले प्रयोगशाला र औषधि उत्पादन गर्ने क्षमता वृद्धि गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले प्रतिरक्षात्मक सामग्रीहरुको उत्पादनमा पनि व्यापक वृद्धि भइरहेको बताउनुभयो ।
खोप उत्पादनका लागि वैज्ञानिकहरुले कडा मेहनत गरिएको उहाँको भनाइ छ ।
‘अहिले भारतमा एउटा हैन, दुईटा हैन, तीनओटा खोपको परीक्षणको चरण चलिरहेको छ । चाँडै नै सकारात्मक नतिजा सार्वजनिक हुने वैज्ञानिकहरुले बताएका छन् । त्यो परीक्षण सफल भएपछि ठूलो मात्रामा औषधिको उत्पादन गर्ने तयारी पनि भइरहेको छ’–उहाँले भन्नुभयो ।
भारतमा कोरोनाको महामारी सुरु हुँदा एउटामात्रै प्रयोगशाला रहेको स्मरण गर्दै प्रधानमन्त्री मोदीले अहिले त्यो संख्या बढेर १४ सयभन्दा बढी प्रयोगशाला बनिसकेको बताउनुभयो ।
उहाँले कोरोनाविरुद्धको खोप तथा उपचारका लागि १०३ करोड भारतीय रुपैयाँ कोषमा राखिएको बताउनुभयो ।
कोरोनाविरुद्धका खोप उत्पादनसम्बन्धी महत्वाकांक्षी सपना चाँडै नै व्यवहारमा देख्न सकिने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री मोदीले केही महिनामा ठूलो मात्रामा एन ९५ मास्क, पीपीई, भेन्टिलेटरलगायतका सामग्रीहरु भारतले विश्व बजारमा निर्यात गर्ने दाबी गर्नुभयो । रासस/एएनआई
प्रतिक्रिया दिनुहोस्