२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास


0
Shares

trump

वासिङटन, साउन ३१ । कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गर्नुभएको हो ।

‘मलाई रुसले बनाएको भनिएको खोपकाबारेमा धेरै थाहा छैन । तर, त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ’–उहाँले भन्नुभयो ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्नेक्रममा उहाँले रुसी खोपकाबारेमा सकारात्मक धारणा राख्नुभएको हो ।

कोरोनाभाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र हुनेपनि उहाँको भनाइ छ ।

‘मलाई जानकारी भएसम्म कोरोनाभाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वकै पहिलो मुलुक भएको छ । यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु’–उहाँले बताउनुभयो ।

उहाँले चाडै नै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास पनि व्यक्त गर्नुभयो । राष्ट्रपति ट्रम्पले यो साह्रै नै महत्वपूर्ण रहेको पनि बताउनुभयो ।

आधारभूत प्रक्रियाहरु पूरा गर्ने र परीक्षण सबै सफल भएपछि आधिकारिक निकायले त्यसको प्रयोगका लागि स्वीकृति दिने उहाँको भनाइ छ ।

नयाँ खोप प्रक्रियामा गएको छ र अहिलेसम्म सकारात्मक नतिजा आएको थाहा पाउँदा आफूहरुलाई अन्त्यन्त धेरै खुसी लागेको उहाँले बताउनुभयो ।

उहाँले अमेरिकमा पनि केही वैज्ञानिकहरुले तीनओटा खोपलाई परीक्षण गरिरहेको र त्यो अहिले तेस्रो चरणमा पुगेको जानकारी दिनुभयो ।

अहिलेसम्म औषधिको औपचारिक प्रयोग गर्न नपाएर विश्वभरि महामारीको रुपमा फैलिएको कोरानोभाइरसविरुद्ध विश्वभरि धेरै वैज्ञानिकहरुले औषधि बनाइरहेको दाबी गरेका छन् ।

तर, ती सबै परीक्षणकाक्रममा रहेका छन् भने अहिलेसम्म विश्व स्वास्थ्य संगठनले कसैलाई पनि कोरोनाको औषधिको मान्यता दिएको छैन । रासस/एएनआई