
काठमाडौं, साउन ३१ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
शनिबार थप सातजनाको शव फेलापरेसँगै मृतकको संख्या १८ पुगेको हो ।
शुक्रबार ११ जनाको शव फेलापरेको थियो ।
पहिरोमा पुरीएर अझै २१ जना बेपत्ता रहेका छन् ।
वर्षा जारी रहेकाले खोजीकार्यमा कठिनाइ भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
शनिबार माइला पराङ दोङ, मेकमाई दोङ, च्यामा दोङ, विमला दोङ, कविर दोङ, लक्ष्मी दोङ र मानबहादुर दोङको शव फेलापरेको हो ।
पहिरोको जोखिम भएका घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पहिरोबाट पीडित भएकाहरुलाई शनिबार पनि राहत सामग्री पठाइएको जानकारी दिनुभयो ।
खाद्यान्न, अस्थायी शौचालय, खानेपानीका पाइपलगायतका सामग्री लिदीमा पठाइएको उहाँले जानकारी दिनुभयो ।
शुक्रबार पनि पीडित परिवारहरुलाई राहत सामग्री वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्