१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लिदी पहिरोमा पुरिएका १९ जनाको शव फेला, परिवारलाई एक लाख रुपैयाँ राहत


0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार पहिरोमा पुरिएका १९ जनाको मात्रै शव फेला परेको छ ।

पहिरोमा ३९ जना बेपत्ता भएकामध्ये हिजो १८ जना र आज बिहान थप एक जना गरी १९ जनाको शव फेला परेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डिएसपी माधव काफ्ले जानकारी दिनुभयो ।

नेपाली सेना, प्रहरी र स्थानीयले पुरिएकाहरूको खोजी गरिरहेका छन् । अहिले पहिरो पीडितहरुलाई स्वास्थ्यका हेल्थ डेस्क स्थापना गर्ने र खानेपानीको व्यवस्था गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

यसैबीच पहिरोमा परी ज्यान गुमाएकाका परिवारले १ लाख रुपैयाँ राहत पाउने भएका छन् ।

विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम दिने निर्णय गरेको हो ।

यस्तै दुवै अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय पनि भएको गाउँपालिकाले जनाएको छ ।