८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


जुम्लामा पुनः निषेधाज्ञा, केही क्षेत्र सिल


0
Shares

जुम्ला । सदरमुकाम खलङ्गा चन्दननाथ नगरपालिकासहित जिल्लाका तातोपानी, हिमा, सिञ्जा गुठीचौर र कनकासुन्दरी गाउँपालिमा पुनः निषेधाज्ञा जारी गरिएको छ ।

समुदायमा कोरोना भाइरस फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित स्थानीय तहमा निषेधाज्ञा जारी गरेको हो ।

चन्दननाथ नगरपालिका भने सिल नै गरिएको छ । बजार क्षेत्र भएको नगरपालिकाको पूर्वमा दानसाँघु, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय, दक्षिणमा तिलानदी र पश्चिममा गमगाड क्षेत्रभित्रका औषधि पसलबाहेक अन्य सम्पूर्ण पसल पूर्णरूपमा बन्द गरिएको छ ।

पातारासी गाउँपालिकामा भने यसअघि नै निषेधाज्ञा गरिएको थियो । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जारी गर्नुभएको निषेधाज्ञामा साउन ३२ गते राति १२ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

स्थानीय प्रशासनले सङ्क्रमण रोग ऐन, २०२० को २(२) र स्थानीय प्रशासन ऐन २०२८, को ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।

यसैगरी कुनै पनि भेला नगर्नसमेत निर्देशन गरिएको छ । तीज नजिकिँदै गर्दा विभिन्न स्थानमा हुने भेला, गाउँमा धार्मिक मेला र राजनीतिक भेलाले जोखिम बढेको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।