
मीरा बस्नेत (इमेज)
काठमाडौं, भदौ १ । पछिल्लो समय कोरोना संक्रमणको उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेका छन् ।
उपचारको फ्रन्टलाइनमा रहने चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण बढ्न थालेपछि यसले स्वास्थ्य सेवा प्रवाहमा असर पुग्ने देखिएको छ ।
कोरोना महाव्याधिको सात महिनाको अवधिमा नेपालमा संक्रमितको संख्या करिब २७ हजारको हाराहारीमा पुगेको छ भने १०० भन्दा धेरै व्यक्तिको मृत्यु भइसकेको छ ।
पछिल्लो समय कोरोना संक्रमणको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमै धमाधम संक्रमण देखिन थालेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म विभिन्न स्वास्थ्य संस्थाका २६ जना चिकित्सकसहित २४९ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।
कोरोनाको हटस्पट बनेको वीरगन्जको नारायणी अस्पताल पर्सामा सबैभन्दा धेरै स्वास्थ्कर्मी संक्रमित भएका छन् ।
यस्तै, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, भरतपुर अस्पताल चितवन, बीपी कोइराला मेमोरियल अस्पताल धरान, गजेन्द्रनारायण सिंहलगायतका अस्पतालका स्वास्थ्कर्मीमा संक्रमण देखिएको छ । जसका कारण अस्पतालहरुको सेवा प्रभावित भएको छ ।
कोरोना संक्रमणको उपचारमा सरकारी स्वास्थ्यकर्मीमात्र खटिएको र उनीहरुको संख्या न्यून रहेकाले यसरी नै धमाधम संक्रमित हुँदै गए स्वास्थ्य सेवा नै ठप्प हुनसक्ने नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीको चेतावनी छ ।
निजी अस्पतालहरुले कोरोना संक्रमितहरुको उपचारमा खासै चासो देखाएका छैनन् ।
कोरोना महामारी यसरी नै फैलिँदै जाने हो भने सरकारी चिकित्सकलेमात्र उपचार गर्न सम्भव नभएको भन्दै निजी अस्पताल पनि उपचारमा संलग्न हुनुपर्ने अध्यक्ष कार्कीको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्दा संघभन्दा प्रदेश मातहतका स्वास्थ्य संस्थामा कार्यरत् स्वास्थ्यकर्मीमा संक्रमण बढी देखिएको छ ।
कतिपय स्वास्थ्यकर्मीले आफूहरुले पर्याप्त मात्रामा सुरक्षा उपकरण नपाइरहेको गुनासो गरिरहेका छन् ।
दैनिकजसो स्वास्थ्यकर्मीहरु संक्रमित भइरहेकाले उनीहरुको स्वास्थ्य सुरक्षामा सरकारले उचित ध्यान दिन आवश्यक रहेको चिकित्सक संघका अध्यक्ष कार्की बताउनुहुन्छ ।
संक्रमितको उपचार गर्ने स्वास्थ्यकर्मी आफैं संक्रमित हुन थालेपछि भोलिका दिनमा कोरोनको उपचार नै नहुने हो कि भन्ने शंका पनि उब्जाएको छ । सरकारले यसतर्फ गम्भीर भएर सोच्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्