
दीपक श्रेष्ठ (इमेज)
काठमाडौं, भदौ २ । मुलुकमा कोभिड-१९ को संक्रमणको गति तीव्र भइरहँदा अग्रपंत्तिमा रहेर नागरिकको सेवामा खटिने सुरक्षाकर्मीमा पनि संक्रमण उत्तिकै देखिन थालेको छ ।
पछिल्लो समय प्रहरी संगठनमा संक्रमणको दर अझ बढ्दै गएको देखिन्छ ।
मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा पनि कोरोना संक्रमण देखिएको छ ।
नेपाल प्रहरीका ३८७ र सशस्त्र प्रहरीका २९१ जना गरी ६७८ जनामा संक्रमण पाइएको हो । कुल संक्रमितमध्ये प्रहरीका २५१ र सशस्त्रका १३६ जना डिस्चार्ज भएका छन् ।
प्रहरीमा हाल १३६ जना अझै सक्रिय संक्रमित छन् । सशस्त्रमा १५५ उपचाररत् रहेको जनाइएको छ ।
जसमध्ये प्रहरी प्रधान कार्यालयका १६०, काठमाडौं उपत्यकाका अन्य कार्यालयमा ३३, प्रदेश नम्बर-१ का २५, प्रदेश नम्बर-२ का ३९, वाग्मती प्रदेशका ४१, गण्डकी प्रदेशका २३, प्रदेश नम्बर-५ का ५५, कर्णाली प्रदेशका छ र सुदूरपश्चिम प्रदेशका पाँच संक्रमितको उपचार भइरहेको छ ।
यस्तै, सशस्त्र प्रहरीतर्फ २९१ संक्रमितमध्ये प्रदेश-१ मा १०२, प्रदेश-२ मा ४९, वाग्मती प्रदेशमा ७२ र प्रदेश-५ मा २० र गण्डकी प्रदेशमा एकजना संक्रमित छन् ।
यस्तै, कर्णालीमा २९ र मिसनमा गएका २९ प्रहरीमा संक्रमण पुष्टि भएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ ।
अग्रपंतिमा रहेर सेवा प्रवाहमा खटिनुपर्ने प्रहरी कर्मचारीमा संक्रमण बढ्नुको मुख्य कारण आवश्यक न्यूनतम् सुरक्षा सामग्रीको उपलब्धता नै रहेको छ ।
कतिपय ठाउँमा भने सुरक्षा सामग्री उपलब्ध हुँदासमेत उचित प्रयोग नगरेको पाइएको छ ।
यसरी दिन प्रतिदिन प्रहरी कर्मचारीहरु संक्रमित हुँदै गइरहेको अवस्था छ ।
यसरी देश र जनताको सुरक्षामा अग्रपंक्तिमा रही काम गर्ने प्रहरीमा संक्रमण बढ्दै जानुले आमनागरिकको सुरक्षा चुनौती थप बढ्न जाने देखिन्छ । यसका लागि संगठन र सरकारले बेलैमा गम्भीर हुन जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्