
सुरेन्द्र भण्डारी (इमेज)
झापा, भदौ २ । सुरक्षाकर्मी आफैंसमेत कोरोना संक्रमित हुन थालेपछि झापाका सुरक्षाकर्मीहरुले सुरक्षाको नयाँ रणनीति बनाउने भएका छन् ।
भारतसँगको खुला सिमाना र भारतबाट आउने नागरिकको व्यवस्थापनमा खटिनु पर्दा उनीहरुसमेत संक्रमणको सिकार बन्दै गएका हुन् ।
कोरोना संक्रमण समुदायमा फैलिसकेको अवस्थामा अग्रभागमा खटिँदै आएका सुरक्षाकर्मीमा समेत जोखिम बढ्दै गएको छ ।
भारतसँगको खुला सीमाका कारण त्यसक्षेत्रमा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमणको जोखिम देखिएको हो । पछिल्लो समयमा झापामा समुदायस्तरमै कोरोनाको संक्रमण देखिएको छ । जसका कारण सबैभन्दा बढी जोखिममा प्रहरीपनि देखिएको छ ।
भारतसँगको सिमानाका कारण दैनिक आवतजावत व्यवस्थापनमा सुरक्षाकर्मी खटिएका कारण उनीहरुमा बढी जोखिम देखिएको हो ।
अपराध नियन्त्रण, शान्तिसुरक्षा, खुला सिमानाको व्यवस्थापन, ‘क्वारेन्टिन’ व्यवस्थापनलगायतको जिम्मेवारी लिएका सुरक्षाकर्मी चौबिसै घन्टा बाहिरै हुन्छन् । जसका कारण कोरोना संक्रमणको जोखिममा प्रहरी रहेको छ ।
जिल्लामा प्रहरी कर्मचारीसहित ४३० जनालाई कोरोना संक्रमण भइसकेकाले चुनौती बढ्दै गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
संक्रमण बढेकै कारण झापाका १५ स्थानीय तहमध्ये चारओटा पालिका दमक र मेचीनगर तथा दुईओटा गाउँपालिका कमल र बुद्धशान्ति अहिलेपनि निरन्तर ‘लकडाउन’मै छन् ।
यहाँ खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसमेत कोरोनाबाट संक्रमित हुने संख्या बढ्दै गएपछि थप सावधानी कसरी अपनाउन सकिन्छ भन्नेमा सुरक्षाकर्मीहरुको ध्यान तानिएको छ ।
भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुबाट कोरोना संक्रमण दर बढ्दै गएको देखिन्छ ।
कोरोनाको उच्च जोखिमको बीचमा समुदायमा रहेर काम गर्नुपर्ने जिम्मेवारी पाएको प्रहरीले भने स्वास्थ्य सुरक्षामा थप सजगता अपनाउन अझै सकेको छैन ।
कोरोनाबाट सुरक्षित हुने उपाय सिकाउने प्रहरी नै अहिले सुरक्षित कसरी हुने भन्ने उपायको खोजीमा छ ।
संक्रमण न्यूनीकरण गर्नको लागि प्रहरीले समुदायमा मास्क, स्यानिटाइजर वितरण गर्दै आएको छ भने भौतिक दुरी कायम गराउने, लकडाउन पूर्णरुपमा कार्यान्वयन गराउने, भिडभाड व्यवस्थापन गर्ने, सीमा सुरक्षा, क्वारेन्टिन व्यवस्थापनलगायतको कार्यहरुमा सक्रियता देखाउँदा यता आफू भने असुरक्षित हुँदै गएको छ ।
सुरक्षित सुरक्षा सामग्रीको अभाव र सीमित स्रोत साधनका बाबजुद खटिएका सुरक्षाकर्मीहरुलेसमेत आफैंमा असुरक्षित हुँदा नागरिकलाई कसरी सुरक्षित गर्नसक्छ ? प्रश्न उब्जिएको छ ।
प्रतिक्रिया दिनुहोस्