
मीरा बस्नेत (इमेज)
काठमाडौं, भदौ २ । कोरोेना संक्रमणको उपचारका लागिमात्र छुट्ट्याएको कोभिड अस्पतालले संक्रमितको चाप थेग्न नसकेपछि सरकारले सामान्य अवस्थाका संक्रमितलाई ‘होम आइसोलेसन’मा राख्ने निर्णय गर्यो ।
तर, विज्ञहरु भने होम आइसोलेसनमा राख्ने सरकारको निर्णय गलत भएको भन्दै संक्रमणको जोखिम झन् बढ्नसक्ने बताउँछन् ।
सरकारले देशभर २५ ओटा अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दै आएको छ । संक्रमितको संख्या बढेपछि अस्पताल भरिभराउ छन् ।
संक्रमितलाई राख्ने ठाउँ नभएपछि सरकारले होम आइसोलेसनको अवधारणा ल्यायो । सरकारले होम आइसोलेसनको मापदण्ड अघि सारेसँगै होम आइसोलेसनमा बस्नेहरु पनि बढेका छन् ।
हालसम्म देशभर दुई हजार ८८७ जना होम आइसोलेसनमा बस्दै आएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।
कोरोनाको ‘हटस्पट’ बनेको प्रदेश नम्बर-२ मा सबैभन्दा धेरै २३ सय ४९ जना होम आइसोलेसनमा छन् ।
सरकारले ओम आइसोलेसनमा बस्नेहरुका लागि छुट्टै मापदण्ड तयार गरेको छ । संक्रमित एक्लै बस्नुपर्ने, छुट्टै शौचालयको प्रयोग, दिनमा कम्तीमा दुईपटक संक्रमितका परिवारले स्वास्थ्य अवस्थाकोबारेमा चिकित्सकलाई जानकारी गराउनुपर्नेलगायतका नियम बनाइएको छ ।
श्वास-प्रश्वासमा समस्या, छाती दुख्ने, होस हराउने, ओठ–मुख नीलो हुनेजस्ता लक्षण देखापरे तत्काल अस्पताल लैजानुपर्ने पनि मापदण्डमा उल्लेख छ ।
तर, विज्ञहरु भने सरकारले तयार गरेको मापदण्ड सबैले पालना गर्न नसक्ने बताउँछन् ।
सरकारले नागरिकको स्वास्थ्यलाईभन्दा संरचना अभाव हुनसक्ने अवस्थालाईमात्र सोचेर होम आइसोलेसनको व्यवस्था गरेको विज्ञहरुको तर्क छ ।
जनस्वास्थ्यविद् डा. शरद वन्त नेपालको सन्दर्भमा होम आइसोलेसन प्रभावकारी नभएकाले यसले संक्रमणको जोखिम बढ्नसक्ने बताउनुहुन्छ ।
संक्रमण पुष्टि भएका तर लक्षण नदेखिएका संक्रमितहरु होम आइसोलेसनमा बस्दै आएका छन् ।
आइसोलेसनमा आधारभूत स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्ने भन्दै जुन होम आइसोलेसनमा सम्भव नहुने विज्ञहरु बताँछन् ।
विज्ञहरु कोरोना संक्रमण अझै फैलिन नदिन सरकारले लक्षण नदेखिएका संक्रमितहरुलाई छुट्टै आइसोलेसन सेन्टर बनाएर राख्न आवश्यक देख्छन् ।
पछिल्लो समय होम आइसोलेसनमा बसेका संक्रमितहरुमाथि दुर्व्यवहारसमेत हुन थालेपछि यसले झनै जोखिम बढ्नसक्ने देखाएको छ । सरकारले होम आइसोलेसनभन्दा पनि संस्थागत आइसोलेसन व्यवस्था गर्नेतर्फ गम्भीर हुन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्