
मीरा बस्नेत (इमेज)
काठमाडौं, भदौ ३ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कति ‘केस’हरु समुदायमा छन् र कुन अवस्थामा छ भन्ने पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘सेरोलोजिकल टेस्ट’को तयारी गरेको छ ।
कोरोना रोकथामका लागि सरकारले विभिन्न उपाय अपनाएपनि संक्रमण भने नियन्त्रणबाहिर जानसक्ने खतरा बढेको छ ।
मंगलबारमात्र काठमाडौं उपत्यकालगायत देशभरि नै कोरोना संक्रमितको संख्या हजार नाघेको छ भने एकैदिनमा आठजनाले ज्यान गुमाएका छन् ।
कोरोना संक्रमण र मृत्युदर पनि बढ्दै गएपछि सरकारले सेरोलोजिकल टेस्टको तयारी गरेको छ ।
अहिले संक्रमित पहिचान भइसकेपछि उनीहरुको सम्पर्कमा आएकाकोमात्र कोरोना परीक्षण गर्ने गरेको छ । सरकार कसलाई परीक्षण गर्ने र कसलाई नगर्ने भन्ने अन्योलमा छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डे संक्रमणको जोखिम कुन तहसम्म पुगेको छ भनेर अध्ययन गर्न सेरोलोजिकल टेस्टको तयारी गरिरहेको बताउनुहुन्छ ।
सेरोलोजिकल टेस्टबाट कति केसहरु समुदायमा छन् र कस्तो अवस्थामा छन् भन्ने पत्ता लगाउन मद्दत पुग्ने उहाँको भनाइ छ ।
रगतको नमुना संकलन गरेर गरिने उक्त परीक्षणले कोरोना संक्रमणको जोखिम कति छ भनेर अध्ययन गर्न प्रयोग गर्न लागिएको हो ।
यो परीक्षण कोरोना संक्रमितमा नभइ समुदायमा गएर गर्ने भन्दै धेरै केस भएको ठाउँमा यसको महत्व नहुने बताउनुभयो ।
कालाजार, डेंगी, मलेरियालगायतका महामारीको परीक्षणका लागिसमेत यो विधि प्रयोग हुँदै आएको छ ।
यस विधिबाट परीक्षण गर्दा एकैपटकमा धेरैको परीक्षण गर्न सकिने र चाँडो पनि हुने महानिर्देशक पाण्डे बताउनुहुन्छ ।
यस परीक्षणबाट व्यक्तिमा संक्रमण पहिले र अहिले छ कि छैन भन्ने पत्ता लगाउन सकिनेछ । समुदायमै कोरोना छ कि छैन भन्ने अन्योल भइरहेको अवस्थामा यसले कोरोना संक्रमण समुदायमा फैलिन नदिन सहयोग पुग्ने थियो कि !
प्रतिक्रिया दिनुहोस्