१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चेकजाँचमा कडाइ, सवारी-साधन नियन्त्रणमा


0
Shares

दीपक श्रेष्ठ र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, भदौ ४ । निषेधाज्ञा जारी भएको पहिलो दिन काठमाडौं उपत्यकाको अधिकांश स्थानमा प्रभावकारी पालना भएको देखिएको छ । चेकजाँचमा प्रहरीले कडाइ गरेको छ ।

बिहीबार दिउँसो १ बजेसम्ममात्रै ट्राफिक प्रहरीले ८९३ ओटा सवारी-साधन नियन्त्रणमा लिएको छ ।

उपत्यकाका ४० ठाउँमा प्रहरीले ‘चेकिङ’ गरिरहेको छ । तर, कतिपय स्थानमा भने चेकजाँचकै कारण ट्राफिक जामसमेत भएको छ ।

निषेधाज्ञा पालना गराउन विभिन्न चोक-चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडाइका साथ चेकजाँच गरिरहेको पाइएको छ ।

निषेधाज्ञा उल्लंघन गर्ने सवारी-साधन नियन्त्रणमा लिने काम पनि भइरहेको छ । चेकजाँचकाक्रममा ट्राफिकहरुबाट पक्षपात भएको भन्दै केही आक्रोशित पनि भेटिए ।

उपत्यकाको बाहिरी सडकमात्र नभइ भित्री भागमा समेत निषेधाज्ञाको पालना भएको देखिन्छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बिहीबारबाट भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

यस अवधिमा अत्यावश्यकबाहेकका सबै क्षेत्र बन्द हुनेछन् । बिनाकाम कुनैपनि व्यक्ति घरबाहिर निस्कन पाउने छैन ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको संयुक्त बैठकले कोरोनाको जोखिम बढ्दै गएसँगै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारीहरुले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञाको निर्णय गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञाभर बिनाकाम कोहीपनि घरबाट निस्कन नपाउने र निस्किएको पाइए कानुनअनुसार कडा कारबाही अघि बढाइने बताउनुभयो ।

उपत्यकामा निषेधाज्ञा पालना गराउन नेपाल प्रहरी र ट्राफिक प्रहरी गरी ३३ सय र सशस्त्र प्रहरीका १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

भिडियो हेर्नुहोस्