
काठमाडौं, भदौ ४ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ६३ अर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष सुरु भएयता बिहीबारसम्म ६३ अर्ब ३६ करोड ४३ लाख बराबर राजस्व संकलन भएको हो ।
यस्तै, यस अवधिमा खर्च भने दुई अर्ब ३४ करोड ८३ लाख रुपैयाँमात्र भएको छ ।
सरकारले चालू आर्थिक वर्षमा १० खर्ब ११ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा बिहीबारसम्म कुल लक्ष्यको ६.२६ प्रतिशत राजस्व संकलन भएको हो ।
अघिल्लो वर्षको यसै अवधिमा ७१ अर्ब ३० करोड राजस्व संकलन भएको थियो ।
अघिल्लो आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब राजस्व संकलन गर्ने सरकारी लक्ष्य थियो ।
यस्तै, अघिल्लो वर्षको यसै अवधिमा छ अर्ब ५५ करोड खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।
कार्यालयको तथ्यांकअनुसार यस अवधिमा एक अर्ब ८९ करोड ८० लाख रकम चालू खर्च भएको छ भने पुँजीगत खर्च जम्मा १३ करोड ३३ लाख खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ भने ११ करोड ७५ लाख रकम खर्च भएको छ ।
‘लकडाउन’ केही खुकुलो भएपछि आर्थिक वर्ष सुरु भएयता राजस्व संकलनमा सुधार आएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्