१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुटिनका कट्टर आलोचक नाभल्नीलाई विष दिइएको आशंका


0
Shares

मस्को, भदौ ४ । रुस सरकारका कडा आलोचक तथा विपक्षी अगुवा एलेक्सी नाभाल्नी बिहीबार अस्पताल भर्ना हुनुभएको छ ।

शंकास्पदरुपमा विषाक्त पदार्थको सेवन गरेपछि उहाँलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

भ्रष्टाचारविरुद्धको फाउन्डेसनका सञ्चारसचिव किरा यर्मयशले दिएको जानकारीअनुसार बिहीबार बिहान टम्सकबाट मस्को फर्किरहेका बेलादेखि उहाँले असहज महसुस गर्नुभएको थियो ।

‘उहाँले उडानकै बेलामा अप्ठ्यारो महसुस गर्नुभएको थियो । ओम्स्कमा विमान आकस्मिक अवतरण गरिएको थियो’-सञ्चारसचिव किराले भन्नुभयो ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै विपक्षी अगुवा नाभाल्नीलाई विषाक्त खाद्यान्नका कारण समस्या भएकाले अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो ।

अवस्था जटिल भएपछि उहाँलाई अहिले अतिसघन उपचारकक्ष (आइसीयु)मा राखेर उपचार गराइएको अधिकारीहरुले जनाएका छन् ।

ओम्स्क विमानस्थलले पनि एकजना हवाईयात्रीको स्वास्थ्य अवस्थामा समस्या उत्पन्न भएपछि ती यात्री रहेको विमान आकस्मिक अवतरण गरिएको पुष्टि गरेको छ । रासस/एएनआई