१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निषेधाज्ञाको एक साताको सक्दो उपयोग गर्न सरकारलाई जनस्वास्थ्यविद्को सुझाव


0
Shares

corona

मीरा बस्नेत (इमेज)

काठमाडौं, भदौ ४ । १२० दिन लामो ‘लकडाउन’ भोगेका काठमाडौं उपत्यकाका नागरिकले बिहीबारबाट फेरि लकडाउनकै परिवर्तित स्वरुप निषेधाज्ञा व्यहोर्नुपरेको छ ।

लकडाउनको क्रममा कोरोना संकटसँग जुध्न सरकारले जुन रुपमा तयारी गर्नुपर्दथ्यो, त्यसो हुनसकेन । समयको सदुपयोग गर्न नसक्दा स्वास्थ्य सेवाको विस्तारमा सोचेजस्तो काम हुनसकेन ।

जनस्वास्थ्यविद्हरुले अब सरकारले पहिलाकोजस्तो गल्ती नगरी यो एक साताको सक्दो उपयोग गर्न सरकारलाई सुझाव दिएका छन् ।

बन्दाबन्दीको १२० दिनमा सरकारले पर्याप्त तयारी गर्न नसक्दा कोरोना संक्रमणले खतराको घन्टी बजाएको छ । त्यतिखेर संक्रमणसँग जुध्न सरकारले ठोस काम नै गर्न सकेन ।

परिस्थितिको गाम्भीर्यतालाई बुझेर सरकारले न त अस्पतालहरुको क्षमता बढायो, न स्वास्थ्य सामग्रीको जोहो नै गर्न सक्यो । उल्टो स्वास्थ्य सामाग्री खरिदको विषयमा भ्रष्टाचारको आरोप लाग्यो र त्यसकै बचाउमा सरकार अल्झिरह्यो ।

स्वास्थ्यमन्त्रीले विश्वकै अन्य मुलुकभन्दा राम्रो काम गरेको भनेर भाषण गर्नमै व्यस्त देखिए । तर, महामारी नियन्त्रणभित्र रहनेभन्दा पनि बढ्न थाल्यो ।

यही अवस्थामा संक्रमितको संख्या बढ्दै जाने हो भने उपत्यकामै संक्रमितहरु उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

त्यसैले निषेधज्ञाको अवधिमा सरकारले सक्रिय भएर उद्देश्यसहित काम गर्नुपर्ने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे सरकारले यस अवधिमा परीक्षणको दायरा बढाउनुपर्ने, पर्याप्त ‘आइसोलेसन’ र ‘क्वारेन्टिनस्थल’को तयारी गर्नुपर्नेलगायतका विषयमा सरकारको ध्यानकेन्द्रित हुनुपर्ने बताउनुहुन्छ ।

एक साताको अवधिमा सरकारले संक्रमण कुन ठाउँमा बढी छ र कुन तहसम्म पुगेको छ भनेर ठम्याउन सक्नुपर्ने डा. पाण्डेको सुझाव छ ।

लकडाउन खुलेयता सीमानाका हुँदै धेरै भारतीय कामदारहरु उपत्यका प्रवेश गरेको भन्दै डा. पाण्डे उनीहरुको खोजी गरी सरकारले परीक्षण गर्नुपर्ने बताउनुहुन्छ ।

अर्का जनस्वास्थ्यविद् समिरमणि दीक्षित सरकारले जारी गरेको निषेधाज्ञाले संक्रमण फैलिनबाट रोकिनेमा आशावादी नभएको बताउनुहुन्छ । यसका लागि सरकारले प्रभावकारी रणनीति बनाउनुपर्ने उहाँको सुझाव छ ।

विगतका गल्ती सच्याउँदै सरकारले आक्रामकरुपमा काम नगर्ने हो भने कोरोना संकटलाई पार लगाउन गाह्रो हुने देखिन्छ ।

भिडियो हेर्नुहोस्