
कल्पना बोहरा (इमेज)
अछाम, भदौ ४ । अछामको रामारोशन गाउँपालिकामा बाढीले बगाएर मृत्यु भएका छजनाको सनाखत भएको छ ।
रामारोशन गाउँपालिका वडा नम्बर-५ का ५४ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीया गौरी शाह, ४६ वर्षीया लाल्सरा शाह, २२ वर्षीया बबिता बुढा साउद, ४५ वर्षीय अमर शाह र १२ वर्षीय नविन शाहको सनाखत भएको स्थानीय पुष्प विष्टले जानकारी दिनुभयो ।
बेपत्ता भएका ११ जनाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
नविनबाहेक अरु पाँचजनाको शव ‘पोस्टमार्टम’का लागि जिल्ला अस्पताल मंगलसेन लगिएको छ । नविनको भने दाहसंस्कार गरिसकिएको छ ।
मंगलबार राति अविरल वर्षापछि आएको बाढीका कारण रामारोशन गाउँपालिका–५, सैनीबजार नै बगाएको थियो ।
बाढीले बगाउँदा १७ जना बेपत्ता भएका थिए । तीमध्ये छजनाको शव बुधबार भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्