
नरेन्द्र मानन्धर र सुन्दर गुरुङ (इमेज)
ललितपुर, भदौ ४ । कतै हिँड्डुल नगरेका व्यक्तिमा पनि धमाधम कोरोनाको संक्रमण देखिन थालेकाले यो समुदायस्तरमै फैलिइसकेको अनुमान लगाउन अब त्यति गाह्रो छैन । तर, संक्रमण कुन स्तरमा पुगेको छ भन्ने अन्योल भने कायम नै छ ।
कोरोना संक्रमण बढ्न नदिन उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।
स्वास्थ्यको दृष्टिले यो आवश्यक भएपनि मध्यम र निम्न वर्गका मानिसको दैनिकी भने नराम्रैसित प्रभावित हुने देखिन्छ ।
यतिबेला विज्ञहरु कोरोना संक्रमण समुदायस्तरमा पुगेको दाबी गरिरहेका छन् । जैविक तथ्यांकविज्ञ प्रा. डा. अमिता प्रधान कोरोना संक्रमण समुदायस्तरमा फैलिएकोबारे अनुसन्धान गर्न जरुरी भइसकेको बताउनुहुन्छ ।
संक्रमणको वास्तविक अवस्था पत्ता लगाउन अब समुदायमै यसको व्यापक परीक्षण गर्नमा ढिलाइ गर्न नहुने उहाँको तर्क छ ।
सरकार ‘कन्ट्याक्ट ट्रेसिङ’ र ‘ट्रयाकिङ’मा चुकेकाले अब पनि जिम्मेवार नहुने हो भने भयावह अवस्था आउनसक्ने उहाँको दाबी छ ।
केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा यो अवस्था आएको भन्दै डा. प्रधानले सबै सरोकारवालाहरुले आपसी समन्वयमा काम गरेमात्र कोरोना नियन्त्रणमा सफलता मिल्ने बताउनुहुन्छ ।
कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले समुदायलाई पनि सुरक्षितरुपले परिचालन गर्न आवश्यक देखिन्छ । यसका लागि सरकार र विभिन्न राजनीतिक दलबीच सामूहिक प्रतिबद्धताको पनि उत्तिकै खाँचो छ ।
स्थानीय तहलाई स्रोत साधनले सम्पन्न गराउन प्रदेश र केन्द्र सरकारले जोड दिनुपर्छ ।
कोरोना नियन्त्रणमा अहिलेपनि चुकिए यसको ठूलो मूल्य चुकाउनुपर्ने निश्चित छ । तसर्थ, सरकारले सर्वसाधारणलाई विश्वासमा लिएर अघि बढ्नुको विकल्प छैन ।
प्रतिक्रिया दिनुहोस्