१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाका कारण रुपन्देहीमा एकजनाको मृत्यु


0
Shares

corona

प्रदीप आचार्य (इमेज)

बुटवल, भदौ ४ । कोरोनाभाइरसको संक्रमणका कारण बिहीबार रुपन्देहीमा एकजनाको मृत्यु भएको छ ।

देवदह नगरपालिका-३, शिशपुरका ७० वर्षीय पुरुषको उपचारका क्रममा देवदहस्थित देवदह मेडिकल कलेजमा मृत्यु भएको देवदह नगरपालिकाका स्वास्थ्य संयोजक काशीनाथ बञ्जाडेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार ती पुरुषमा बुधबारमात्रै कोरोना पुष्टि भएको थियो ।

पक्षघात, उच्च रक्तचाप र मधुमेहका रोगी ती व्यक्ति केही दिनअघि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार गर्न गएका थिए । युनिभर्सलले उनलाई घर पठाइदिएको थियो ।

त्यसपछि देवदह मेडिकल कलेज पुगेका उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनको अवस्था नाजुक बन्दै गएको र मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै बञ्जाडेले बताउनुभयो ।

उनको मृत्युपछि देवदह मेडिकल कलेज ‘सिल’ गरिएको छ । उपचारमा संलग्न भएकाहरुलाई ‘सेल्फ आइसोलेसन’मा राखिएको छ ।

शुक्रबार ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर ‘पीसीआर’ परीक्षण गरिने उहाँले बताउनुभयो ।

अहिले शिशपुर क्षेत्रमा पनि आवतजावत रोकिएको बञ्जाडेले जानकारी दिनुभयो ।