१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाका कारण पाटन अस्पतालमा दुई जनासहित पछिल्लो समय ५ जनाको मृत्यु


0
Shares

patan hospital, corona death

काठमाडौं । नेपालमा कोरोना भाईरसको संक्रमणबाट हिजो बेलुकीदेखि अहिलेसम्म थप ५ जनाको मृत्यु भएको छ ।

ललितपुरको पाटन अस्पतालमा आज(शुक्रबार) बिहान दुई जनाको मृत्यु भएको छ भने चितवन, बुटवल र विरगन्जमा थप एक एक जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार पाटनमा उपचार गराइरहेका दोलखाका ३० वर्षीया महिलाको उपचारकै क्रममा आज बिहान मृत्यु भएको छ ।

उनको भदौ २ गतेदेखि पाटनमा उपचार भइरहेको थियो । त्यस्तै सर्लाही मलंगवा निवासी ४६ वर्षका पुरुषको पनि आजै बिहान मृत्यु भएको जनाइएको छ ।

उता, भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको हिजो बेलुकी मृत्यु भएको छ ।

विगत ६ दिनदेखि संक्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको आज बिहान मृत्यु भएको हो । भदौ १ गते अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

आज बिहान साढे ६ बजेतिर उनको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले पुष्टि गर्नुभयो ।

भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए । मृतक गौतममा मधुमेह र उच्च रक्तचापको पनि समस्या थियो ।

उपचारकै क्रममा गौतमलाई निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ । योसँगै बुटवलको कोरोना अस्पतालमा कोरोना संक्रमितको मृत्यु हुने संख्या तीन पुगेको छ ।

उता, विरगञ्जमा ट्राभल हिस्ट्री नै नभएका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

वीरगञ्ज–१५ का ७४ वर्षका पुरुषको कोरोना संक्रमणका कारण हिजो साँझ मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।