
काठमाडौं, भदौ ५ । कोरोनाभाइरस (कोभिड—१९) संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको शुक्रबार दोस्रो दिनपनि काठमाडौं उपत्यका सुनसान देखिएको छ ।
एक हप्ताका लागि जारी भएको निषेधाज्ञाका कारण उपत्यकाका सडकहरु सुनसान देखिएका छन् । अत्यावश्यकबाहेकका सवारीहरु बन्द छन् ।
खाद्यान्न, तरकारी, फलफूल, खानेपानी, विद्युत्, सञ्चारलगायतका सवारी सञ्चालनमा रहेका छन् । आजपनि प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।
शुक्रबार दोस्रो दिनपछि औषधि र खाद्यान्नबाहेकका अन्य पसल खुलेका छैनन् । खाद्यान्नका पसलहरु पनि प्रहरीले बिहानीको समयमा मात्रै खुला गर्न दिएको छ । सवारी-साधन चलाउने र पैदलयात्रा गर्नेलाई प्रहरीले सोधखोज गरिरहेको छ ।
अत्यावश्यक कामबाहेक बाहिर निस्किनेलाई केही समय ‘होल्डिङ’ सेन्टरमा राखेर छाड्ने गरिएको छ । प्रशासनले अनावश्यक काममा बाहिर ननिस्किन सबैलाई आग्रह गरेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएको हो ।
प्रतिक्रिया दिनुहोस्