१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दैनिक १९ घन्टासम्म काम, डाक्टरलाई छैन तीजको रौनक


0
Shares

डोलराज रानाभाट (इमेज)

चितवन, भदौ ५ । नेपाली महिलाको महान् पर्व हरितालिका तीज ।

तर, कोरोना छ कि छैन भनी प्रयोगशालामा परीक्षण गर्ने प्राविधिक डाक्टर नीतु अधिकारीलाई यो वर्ष तीजको केही रौनक छैन ।

गत वर्ष रातै सारीमा हातभरी चुरा लगाएर छमछमी नाचेको याद गर्नुबाहेकको विकल्प छैन, उहाँसँग यस वर्ष ।

दैनिक १८ घन्टासम्म भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा करिब १८ ओटा जिल्लाबाट आएका १६ हजारजति स्वाबसँग खेलिसक्नुभएको छ । यसरी स्वाब संकलनमा बितेको पनि झन्डै चार महिना बितिसकेछ ।

२९ वर्षीया नीतु अहिले सबैभन्दा महत्वपूर्ण तर एकैछिन ध्यान भंग भए जोखिम निम्तने क्षेत्रमा १९ घन्टासम्म काम गरिरहनुभएको छ ।

गत वर्ष यसैदिन भगवान्लाई जल चढाएको हात अहिले कोरोनाभाइरस खुट्याउन प्रयोग भएका छन् । त्योपनि बाक्ला बाक्ला पन्जा लगाएर ।

विगतको तीज सम्झँदै अधिकारीले भन्नुभयो-‘बाँचियो भने त चाडपर्व जहिले मनाएपनि भइहाल्यो नि !’

तर, तीजको दिनमा पनि यसरी अस्पताल आएर काम गर्नुपर्दा मन केही अमिलो भएपनि सेवा गर्न पाउँदा भने मक्ख नै देखिन्छ ।

एकातिर काम सुरु गरेदेखि परिवारका सबै सदस्यलाई भेट्न नपाउनुको पीडा त छदैछ अर्कोतर्फ समाजले गर्ने विभेदपनि चुनौती नै छ ।

डा. अधिकारीसँगै काम गर्ने विनु पौडेललाई पनि ड्युटी सकेपछिसँगै बसेर खानपिन, मनोरन्जन गरेको याद छ । तर, अहिले भने एक्लै ‘क्वारेन्टिन’मा बस्नु परेपनि निकै खुसी नै देखिनुहुन्छ ।

संक्रमित भयो भन्दा त्रसित हुने समाजमा उहाँले त झन् रात दिन स्वाबसँगै खेल्नु परिरहेको छ । तर, अध्ययन गरेकै क्षेत्र भएकाले पनि त्यति गुनासो भने छैन ।

कोभिड ल्याबमै कार्यरत् प्रदीप हमालको पनि दिदी-बहिनीलाई माइत बोलाएर सबै परिवारसँग चाडपर्व मनाउने इच्छा थियो । तर, पछिल्लो परिस्थितिको व्यस्ताले उहाँको इच्छा पनि त्यतिमै सीमित रह्यो ।

अहिले दैनिक ६०० सम्मको स्वाब दैनिक परीक्षण गरी रिपोर्ट दिइरहनुभएका प्रयोगशालाका प्राविधिकहरु पनि पीडा लुकाएरै भएपनि कोभिड-१९ को युद्ध सम्हालिरहनुभएको छ । त्यसैलेपनि न महिला न पुरुष डाक्टर कसैको पनि तीज आएन बरिलै !

भिडियो हेर्नुहोस्