
मीरा बस्नेत (इमेज)
काठमाडौं, भदौ ५ । आज हरितालिका तीज । हिन्दु नारीहरुले हर्षोल्लासका साथ मनाउने गरेको यो पर्व यस वर्ष भने विश्व महाव्याधिको रुपमा फैलिएको कोरोना संक्रमणले प्रभावित बन्यो ।
समूहमा जम्मा भएर मनाइने तीज यो वर्ष घरभित्रै सीमित भयो । देशभरका शिवालयहरु सुनसान देखिए ।
आजको दिन काठमाडौंको पाशुपत क्षेत्र निकै नै रंगिन देखिन्थो । रंगीचंगी पहिरनमा सजिएका नारीले पशुपति क्षेत्रमा छुट्टै आकर्षण हुन्थ्यो । बिहानैदेखि देशभरका शिवालयहरुमा पूजा–आराधना र नाचगान गर्नेको भिड लाग्थ्यो ।
तर, यस वर्षको दृष्य भने ठिक उल्टो थियो । कोरोनाको महामारीका कारण पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरु सुनसान थिए ।
काठमाडौं उपत्यकालगायत देशभरका मुख्य शिवालयमा नित्य पूजाबाहेक सबै गतिविधि बन्द गरिएको छ । शिवालयहरुमा हुने तीजको रमझम यसपालि कतै देखिएन ।
कोरोनाबाट बच्न काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएकोले यस वर्ष ब्रतालुले घरमै पूजा–आराधना गरी हरितालिका तीज मनाएका छन् ।
यसदिन ब्रत बसी शिव–पार्वतीको पूजा–उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । तर, यसपालि भने नाचगान निकै कम भयो ।
यो पर्वको विशेषता भनेकै महिलाहरु सामूहिकरुपमा जम्मा हुने, पूजापाठ गर्ने, ब्रत बस्ने र नाचगान गरी रमाइलो गर्ने हो । तर, कोरोना महामारीले यसपालिको तीज खल्लो बन्यो । धेरै चेलीबेटी आफ्नो माइत पुग्न पाएनन् । न दाजुभाइ नै ढुक्क भएर चेलीलाई लिन जान नै सके ।
दर खाएपछि औपचारिकरुपमा सुरु हुने तीजमा तृतीयाका दिन हरितालिका ब्रत, चौथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी सप्तऋषिको पूजा गरेपछि समापन हुन्छ ।
अघिल्ला वर्ष तीज सुरु हुनभन्दाअघि नै महिलाहरु एकापसमा भेटभाट गर्ने नागगान गर्ने, मिठो खानेकुरा खाने गर्दथे । त्यसैले यो पर्व भड्किलो हुँदै गएको टिप्पणी सुनिन्थ्यो ।
तर, कोरोना महामारीले यस वर्ष परिवारकै सदस्य पनि एक ठाउँमा भेला हुन पाएनन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्