
काठमाडौं, भदौ ५ । काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुखहरुले सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पटक-पटक निर्णय परिवर्तन गर्दा कार्यान्वयनमा समस्या भएको बताएका छन् ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले काठमाडौं प्रवेश गर्ने सम्बन्धमा पटक-पटक नियम परिवर्तन गर्दा कार्यान्वयनमा समस्या भएको बताउनुभयो ।
मेयर गिरीले सरकारले उपत्यका प्रवेश गर्न दिने सम्बन्धमा पटक-पटक नियम परिवर्तन गर्ने र तत्कालै कार्यान्वयन गर्न निर्देशन दिँदा समस्या हुने गरेको बताउनुभयो ।
उहाँले नाकामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको उचित ढंगल व्यवस्थापन नहुँदा आदेशहरुको कार्यान्वयनमा चुनौती देखापरेको बताउनुभयो ।
सरकारले दीर्घकालीन सोचअनुसार निर्णय नगर्ने र विभिन्न समयमा गरिएका निर्णयहरुमा फरक पर्ने भएकाले नाकाको व्यवस्थापनमा कठिनाइ देखिएको उहाँको तर्क छ ।
यस्तै, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले प्रदेश र संघीय सरकारबाट आउने आर्थिक सहयोगमा ढिलाइ हुँदा कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकिएको बताउनुभयो ।
संघीय र प्रदेश सरकारबाट प्रयाप्त सहयोग नहुँदा नाकाको व्यवस्थापनमा कमजोरी भएको उहाँको भनाइ छ ।
उहाँले भक्तपुर जिल्लाका चारओटै नगरपालिकाले संयुक्तरुपमा लगानी गरेर खरिपाटीमा आइसोलेसन केन्द्र र सचेतना जगाउने कार्यक्रम कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
काठमाडौं उपत्यकामा ‘लकडाउन’ खुला भएपछि संक्रमण रहेका जिल्लाबाट मानिसहरु आउन दिँदा उपत्यकामा संक्रमणको जोखिम बढेको उहाँले जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्