
काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि गएराति भएको भिडन्त पुरापुर रोमान्चक रहयो ।
पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब बायर्न म्युनिखबीचको पूरा खेल जति रोमान्चक रहयो त्यो भन्दा पनि स्टार खेलाडी नेइमारको आँखाबाट झरेको आँशुले उत्तिनै भावुक बनायो ।
खेल कौशलता र छिटो गोल गर्न माहिर पिएसजीका स्टार नेइमार आफ्नो टिम फाइनलमा पुगेर पनि पराजित भएपछि मैदानमा धुरुधुरु रोएको दृश्यले धेरै खेलप्रेमीलाई भावुक बनायो ।
बायर्न म्युनिखसँग १–० ले पराजित हुँदै उपाधि जित्नबाट बन्चित भएपछि पिएसजीका सबै खेलाडी निराश देखिन्थे ।
पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको पीएसजीले खेलको दोस्रो हाफमा बार्यनका किंग्सले कोमानले गरेको गोल पीएसजीको हारको कारण बन्यो ।
दोस्रो हाफमा बायर्नले गोल गरेपछि पीएसजी निकै हतारिएको थियो । बराबरी गोलका लागि संघर्ष गरेको पीएसजी सफल नहुँदा उपाधि गुमाउन पुग्यो ।
बायर्नका खेलाडीले खुसियाली मनाइरहँदा पीएसजीका नेइमारलगायतका खेलाडी निकै भावुक भएको र आँशु बगाइरहेको दृश्यले दर्शकलाई स्तब्ध बनाएको देखिन्थ्यो ।

कुनै खेलमा कठिन संघर्ष गरेर जितेपछि पनि घुँडा टेकेर रुने गरेका नेइमार यसपटक हारपछि मन थाम्न सकेनन्, आँसु रोक्न सकेनन् ।
मैदानबाट बाहिरिने क्रममा नेइमार एकदमै भावुक भएर रोएको दृश्य सार्वजनिक भएको थियो ।
धेरैबेरसम्म आँशु थाम्न नसकेपछि बार्यनका डिफेन्डर डेविड अल्बाले काँध दिएका थिए । बार्यनका प्रशिक्षक हान्सी फ्लिकले पनि नेइमारको पीडामा धाप मार्न भ्याए ।
परिपक्व र उत्कृष्ट प्रदर्शन गरेका २७ बर्षीय नेइमारले हारपछि ट्वीट गर्दै सहानुभूतिका लागि धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्