२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


झापाबासी भन्छन्-‘प्रधानमन्त्रीबाट आफ्नै ठाउँको विकास भएन, अन्यत्रको झन् के होला ?’


0
Shares

सुरेन्द्र भण्डारी (इमेज)

झापा, भदौ ८ । प्रधानमन्त्री केपी शर्मा ओली झापाको नेतृत्व गर्दै दुई–दुईपटक प्रधानमन्त्री बन्नुभयो ।

पछिल्लोपटक ‘समृद्ध मुलुक, सुखी नेपाली’को सपना बाँडेर प्रधानमन्त्री बन्नुभएका ओलीबाट देशको मुहार फेरिने जनताको आशा थियो ।

तर, देश त के आफ्नै ठाउँको विकासमा समेत ओलीले बेवास्ता गरेको झापाका स्थानीयले गुनासो गरेका छन् ।

प्रधानमन्त्री ओली हुनेबित्तिकै झापाबासीले त झन् आफ्नै ठाउँले प्रधानमन्त्री पाएको भन्दै सिंगो झापाको विकासले मुहार फेर्ने अपेक्षा राखेका थिए ।

तर, झापाबासीले राखेको आशा ओलीको यो मध्य समय बित्दासम्म निराशामै सीमित भएको छ ।

प्रधानमन्त्री ओलीका छिमेकीमात्र हैनन्, उहाँका नातागोता र आफन्तलेसमेत नाता भएर गर्व गर्नु सिवाय विकासको नाममा भूत्लोभाङ नभएको अनुभव सुनाएका छन् ।

बरु, उल्टै आफन्त र नातागोताको नाताले हालेको मतसमेत खेर गएको गुनासो गरेका छन् ।

प्रधानमन्त्री बनेसँगै देश र जनताको मुहार फेर्नुको सट्टा पद र प्रतिष्ठा जोगाउन उद्धत रहेको झापाबासीको आरोप छ ।

ओलीबाट स्थानीय जनतामात्र हैन, धेरैले केही हुन्छ भन्ने आश गरेका थिए । तर, त्यस्तो देखिएन । गाउँका बाटाघाटा हिलाम्मे छन् । सडक भत्किएका भत्किएकै छन् ।

प्रधानमन्त्री आउँदा सुनाएको समस्या पनि नसुनेझैं गरेको उनीहरुको भनाइ छ ।

पहिलेदेखि नै हेलचेक्र्याइँ, खेलाची र लापरबाहीमा हुर्किनुभएका उहाँले विकासमा पनि खेलाची र हेलचेक्र्याइँ गरेको झापाबासीको आरोप छ ।

भद्रपुर नगरपालिका–१, महेशपुरबासीले त झन् आफ्नो घर गाउँको विकासका लागि प्रधानमन्त्री ओलीले केही गर्न नसकेको बताएका छन् ।

आफ्नै ठाउँमा समृद्धि र विकास नहुँदा अन्यत्रको अवस्था त झन् के होला भन्दै उनीहरुले प्रश्न गरेका छन् ।

आफ्नो ठाउँको विकास गरिदिए हुन्थ्यो भन्ने सोचेका उनीहरुलाई आफ्नो ठाउँको प्रधानमन्त्री भएको भन्ने गर्व गरेरमात्र केही नहुने रहेछ भन्ने लागेको छ ।

झापा क्षेत्र नम्बर-१ अन्तर्गतको भद्रपुर नगरपालिका-१, महेशपुरमा ओलीको निवास छ । जहाँ ओलीका बुवा मोहनप्रसाद ओलीको बसोबास छ ।

तर, ओलीले आफ्नै घर भएको ठाउँमा समेत विकास गर्नुसक्नु त भएन नै, विकास हुन्छ भनेर आश्वासन पाएका धेरै महेशपुरबासीहरुले पनि ओलीबाट चित्त दुखाएका छन् ।

त्यसैलेपनि प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री ओलीले स्थानीयस्तरको विकासलाईसमेत प्राथमिकतामा राख्दै जनताका बाचा पूरा गर्नपट्टि लाग्नुपर्ने देखिन्छ । नत्र अबको आधा कार्यकाल पनि यसरी नै खेर जाने देखिन्छ ।

भिडियो हेर्नुहोस्