
जुम्ला । जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करीब पाँच सय भेंडा मरेका छन् ।
बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेंडा मरेका हुन् ।
पातारासी–४ का वडाध्यक्ष कालीबहादुर रावतका अनुसार घटनास्थलतर्फ किसानहरू गइरहेका छन् । क्षतिको यकिन विवरण भने आइसकेको छैन ।
चरण क्षेत्रमा परेको चट्याङबाट गाउँपालिकाका भेंडापालक किसानको पुख्र्यौली पेशालाई नै बज्रपात परेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताउनुभयो ।
पातारासी क्षेत्रका अधिकांश बासिन्दाको मुख्य आम्दानीको स्रोत भनेकै भेंडापालन हो ।
सबै भेंडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउनै मुश्किल पर्ने अवस्था आएको बताइएको छ ।
जुम्लामा २०७० सालमा पनि निरन्तर परेको असिना, पानी र हावाहुरीले करीब सात सय भेंडा मरेका थिए ।
प्रतिक्रिया दिनुहोस्