
काठमाडौं, भदौ ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लाहरुमा आन्तरिक उडानको तयारी भइरहेको बताउनुभएको छ ।
देशका धेरै ठाउँमा निषेधाज्ञा जारी भएका कारण तत्काल पूर्णरुपमा उडान सुचारु गर्ने अवस्था नभएपनि केही हिमाली र पहाडी जिल्लामा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।
मंगलबार मन्त्रालयको गत आर्थिक वर्षको वार्षिक प्रगति पुस्तिका सार्वजनिक कार्यक्रममा मन्त्री भट्टराईले वायुसेवा सञ्चालकहरुसँग केही हिमाली र पहाडी जिल्लाहरुबाट आन्तरिक उडान सुचारु गर्ने विषयमा कुरा भइरहेको बताउनुभयो ।
आन्तरिक उडानमा स्वदेशी र विदेशी नागरिकलाई भाडादरमा समानता गर्ने विषयमा पनि मन्त्रालय सकारात्मक रहेको उहाँले बताउनुभयो ।
भाडादरका विषयमा अध्ययन गर्न कार्यदल नै गठन भएको उल्लेख गर्दै पर्यटनमन्त्री भट्टराईले कार्यदलको सुझावअनुसार वायुसेवा कम्पनीहरुसँग सहमति गरेर एकरुपता ल्याउने प्रयास गरिने बताउनुभयो ।
कोरोना महामारी सुरु भएपछि ५२ हजार नागरिकहरुलाई विभिन्न देशबाट नेपाल ल्याइएको उहाँले बताउनुभयो ।
झन्डै २० हजार यो अवधिमा नेपालबाहिर गएका छन् ।
‘चार्टर्ड’ उडानहरु व्यवस्थित हुन नसकेको स्वीकार गर्दै मन्त्री भट्टराईले बाध्यतामा हुने उडानले गर्दा केही समस्या देखिएको बताउनुभयो ।
चार्टर्ड उडाहरुको संख्या घटाउँदै भदौ १६ गतेबाट नियमित उडानको अभ्यास सुरु गर्न कार्यतालिका सार्वजनिक भएको उहाँले बताउनुभयो । त्यसपछि परिस्थिति हेरेर नियमित उडानको तयारी थालिनेछ ।
चिनियाँ जहाजहरु नेपाली आकाशमा उडाउन अनुपयुक्त
नेपाल वायुसेवा निगमको कुल सम्पत्ति ५४ अर्ब १७ करोड रुपैयाँ रहेको उहाँले बताउनुभयो । निगमलाई उद्धृत गर्दै मन्त्री भट्टराईले ४५ अर्ब ९४ करोड ऋणमा निगम रहेको बताउनुभयो ।
मन्त्री भट्टराईले चिनियाँ जहाजहरु नेपाली आकाशमा उडाउन उपयुक्त नदेखिएकाले ‘ग्राउन्डेड’ गर्नुपरेकोसमेत बताउनुभएको छ ।
अनुदानमा प्राप्त भएका र निगमले खरिद गरेका जहाजहरुको सम्पूर्ण पक्ष विश्लेषण गर्दा जहाजहरु नेपाली आकाशमा उडाउन उपयुक्त नदेखिएको उहाँले बताउनुभयो ।
निगमले विभिन्न कमिटीहरु बनाएर विमानहरुको विषयमा अध्ययन गर्दा नेपाली आकाशमा उडाउन उपयुक्त नभएको निष्कर्ष निकालिएको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसको उपयुक्त विकल्प के हुनसक्छ भनेर अर्थ मन्त्रालयसँग राय मागिएको बताउनुभयो ।
चीनसँगको कूटनीतिक सम्बन्ध र नेपालले तिनुपर्ने बाँकी रकमलाईसमेत मध्यनजर गर्दै अर्थ मन्त्रालयको राय आएपछि निर्णय हुने उहाँले बताउनुभयो ।
पोखरा विमानस्थल तोकिएकै समयमा सम्पन्न हुने
राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका लागि अहिलेसम्म ६० हजार रुखको गणना भइसकेको उहाँले बताउनुभयो ।
वन मन्त्रालयलगायतका निकायहरुसँग समन्वय अभावले काम प्रभावित भएको उहाँले बताउनुभयो ।
पोखरा विमानस्थल तोकिएकै समय (३० जुन)मा सम्पन्न हुने उहाँले बताउनुभयो ।
भैरहवा विमानस्थलमा कोरोनाका कारण कामदार आउन नसक्दा समस्या भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्