
नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो महिनामै उत्साहजनकरुपमा राजस्व असुली गरेको छ ।
गत आर्थिक वर्षमा लक्ष्य भेटन नसकेको कार्यालयले चालू आर्थिक वर्षको श्रावणमा लक्ष्य भन्दा ७३ करोड बढी राजस्व असुली गरेको हो ।
कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाका अनुसार श्रावणमा ९४ करोड ७५ लाख ६ हजार रुपैयाँ लक्ष्य राखेकोमा १ अर्ब ६८ करोड अर्थात १७७.१५ प्रतिशत प्रगति गरेको छ ।
यो राजस्व लक्ष्य भन्दा ७३ करोड २५ लाख बढी भएको कार्यालयले जनाएको छ । कोरोना महामारीका कारण गत आर्थिक वर्ष २०७६/०७७ मा लक्ष्यमा पुग्न सकेन ।
१५ अर्ब ४३ करोड ७५ लाख ५१४ रुपैयाँ लक्ष्य राखेकोमा आर्थिक वर्ष २०७६/०७७ मा कार्यालयले ११ अर्ब ७७ करोड ८ सय २२ रुपैयाँ अर्थात ७६ दशमलव २५ प्रतिशत मात्र भन्सार राजस्व असुली गरेको थियो ।
गत आर्थिक वर्षमा लक्ष्य भन्दा ३ अर्ब ६६ करोड ६७ लाख रुपैयाँ कम राजस्व असुली गरेको भन्सारले यस आर्थिक वर्षमा भने उत्साहजनक राजस्व असुली गरेको हो ।
कोरोना संकटकै बीच आर्थिक वर्षको पहिलो महिनामै उत्साहजनक राजस्व असुली हुँदा नेपालगन्ज भन्सार कार्यालयले अबको लक्ष्य सजिलै हासिल हुने अनुमान गरेको छ ।
चालू आर्थिक वर्षमा नेपालगन्ज भन्सार कार्यालयले १५ अर्ब १८ करोड ९२ लाख ८५ हजारको वार्षिक लक्ष्य राखेको छ ।
साउन महिनाकै अनुपातमा राजस्व असुली भएको खण्डमा लक्ष्य सजिलै पूरा हुने भन्सार कार्यालयले जनाएको छ ।
नेपालगन्ज नाकाबाट पेट्रोलियम पदार्थ, एलपी ग्यास, हवाई इन्धन, खाद्यान्न, सेरामिक्स, क्लिंकर, खरानीलगायतका वस्तुहरु बढी आयात हुने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्