
काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले निषेधाज्ञा एक साताका लागि थप गर्ने निर्णय गरेको हो ।
यसअघि जारी निषेधाज्ञा आज राति सकिँदै छ । उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै सिफारिस गृहमन्त्रालयमा पठाएको छ ।
बैठकको सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ । निषेधाज्ञा यसअघि भन्दा थप कडाइ गरिनेछ ।
उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो सिफारिस गरेको हो ।
निषेधाज्ञामा पहिलेको जस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य चिजहरूलाई सहज गरिने छ। खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू सवा ९ बजेसम्म खुल्नेछन् ।
बैठकमा काठमाडौंका सीडीओ जनकराज दाहाल, भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायण भट्टसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सहभागी थिए ।
भदौ २ गते बसेको उपत्यकाका तीन जिल्लाका सीडीओको बैठकले भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म एक साता निषेधाज्ञाको निर्णय गरेको थियो ।
निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सेवा ठप्प रहनेछन् । यसअघि सरकारले उपत्यका प्रवेशमा कडाइ गरेको थियो ।
उपत्यकामा मात्र संक्रमितको संख्या तीन हजार नाघिसकेको छ । काठमाडौंमा मात्र करिब २८ सयमा संक्रमण पुष्टि भएको छ ।
सरकारले देशभर संक्रमण बढ्न थालेपछि निषेधाज्ञाको निर्णय गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस्