
प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, भदौ १० । नेपालमा कोरोनाभाइरस संक्रमणको दर बढ्दै गएको छ ।
तर, समाजले गर्ने व्यवहार र मानसिक तनाव वा डरका कारण व्यक्ति आफू संक्रमित भएको स्वीकार गर्न वा खुलाउन अझै तयार छैनन् । संक्रमण भएको नै लुकाउने गर्दा अरु व्यक्ति थप जोखिममा परेका छन् ।
वीर अस्पतालको शल्यक्रियाकक्षमा कार्यरत् कार्यालय सहयोगीलाई भदौ ७ गते ‘तपाइँलाई कोरोना संक्रमण देखिएको छ’ भन्दै स्वास्थ्य मन्त्रालयबाट फोन आयो । ‘जहाँ हुनुहुन्छ, त्यहीँ नै सुरक्षितरुपमा बस्नुहोला, स्वास्थ्यमा केही समस्या देखिए हामीलाई सम्पर्क गर्नुहोला !’ भनेर फोन राखियो ।
संक्रमण देखिएकी भनिएकी ती महिलाले आफूलाई संक्रमण भएको कुरा घरमा समेत सुनाइनन् । भोलिपल्ट भदौ ८ गते उनी वीर अस्पतालको बसमा चढेर काममा आइन् ।
अस्पताल आएर उनले अघिपछिझैं बिरामीको बेड मिलाउने, चिया पकाएर स्वास्थ्यकर्मीलाई दिनेलगायतका काम नियमितरुपमा गरिन् ।
केही समयपछि एक स्वास्थ्यकर्मीलाई उनले कोरोना लागेको बिरामीलाई के हुन्छ ? कस्तो लक्षण देखिन्छ ? कसरी थाहा पाउने ? लगायतका प्रश्न सोध्न थालिन् ।
सो समयमै वीरमा शल्यक्रियाकक्षमा कोरोना संक्रमण पुष्टि भएको महिलाको नाम खोज्न थालियो । त्यसबेला उनी अस्पताल नै थिइन् ।
संक्रमण देखिएकाले घरमै बस्न स्वास्थ्यकर्मीले सम्झाएपछिमात्र उनी घर गएकी थिइन् । जसका कारण वीरको शल्यक्रियाकक्षमा काम गर्ने पाँचजना स्वास्थ्यकर्मी नर्स हाल होम आइसोलेसनकक्षमा रहेका छन् ।
वीर अस्पतालमा हालसम्म चिकित्सक, नर्स र कर्मचारी गरी १६ जनामा संक्रमण देखिएको छ ।
कोभिड र नन-कोभिडका बिरामीलाई एउटै अस्पतालमा उपचार हुँदा हाल वीरका धेरै स्वास्थ्यकर्मी र चिकित्सक आइसोलेसनमा रहेका छन् ।
कोरोनाभाइरसप्रतिको त्रासका कारण संक्रमितले आफूलाई संक्रमण देखिएको स्वीकार गर्न नसक्ने अवस्था बनेको छ ।
अझै संक्रमित पहिचान भएपछि छरछिमेकी र समाजले गर्ने व्यहावहारका कारण पनि संक्रमितहरु खुल्न चाँहदैनन् ।
स्वास्थ्य मन्त्रालयकाअनुसार संक्रमण देखिएका ४० जना संक्रमित अझै सम्पर्कमा आउन सकेका छैनन् । तीमध्ये २७ जना काठमाडौंका रहेका छन् ।
संक्रमितहरुमा परेको मनोवैज्ञानिक त्रासका कारण खुलेर भन्न नसक्ने अवस्थाले जोखिम झन् बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्