
काठमाडौं, भदौ १० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारी अकर्मण्यता र संवेदनहीनताले कोरोना संक्रमण नियन्त्रणबाहिर जाने अवस्थामा पुगेको जनाएको छ ।
पार्टीद्वारा गठित कोभिड–१९ अनुगमन समितिले बुधबार ‘प्रेस नोट’ जारी गर्दै सरकारी अकर्मण्यता र संवेदनहीनताले संक्रमण नियन्त्रणबाहिर जाने खतरा उत्पन्न भएको आरोप लगाएको हो ।
समितिले कोरोना संक्रमण नियन्त्रणका लागि सरकार दिशाविहीन र योजनाविहीन रहेको पनि आरोप लगाएको छ ।
आर्थिक र सामाजिक असर सम्बोधन गर्न ठोस योजना नरहेको भन्दै नागरिकको जीवन संकटमा पर्नुमा सरकार जिम्मेवार रहेको समितिका सदस्य नैनसिंह महरले आरोप लगाउनुभयो ।
यस्तै, समितिले कोरोना महामारीसम्बन्धी सरकारलाई १३ बुँदे ध्यानाकर्षण गराएको छ ।
समितिले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्न, स्वास्थ्यकर्मीलाई बिमा व्यवस्था कार्यान्वयन र जोखिम भत्ता उपलब्ध गराउन, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उद्धार तथा उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
कोरोना नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने, निजी अस्पतालहरुलाई कोरोना अस्पताल घोषणा गर्नुपर्ने, नागरिक जीवन सहज पार्न अल्पकालीन र दीर्घकालीन योजना सार्वजनिक गर्नुपर्ने, संक्रमणको ‘सर्भिलेन्स’ र ट्रेसिङको आधारमा संक्रमणको सम्भावना ज्यादा भएका स्थानहरुमा ‘पीसीआर’ परीक्षणलाई व्यापक बनाउनुपर्ने, उपचारका क्रममा उपयोगी औषधिहरुलाई सुलभ मूल्यमा तत्काल सहज उपलब्धता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
यस्तै, समितिले लक्षणको स्वरुप हेरेर ‘आइसोलेसन’ राख्ने मन्त्रालयको निर्णय अव्यावहारिक भएको टिप्पणी गरेको छ ।
शैक्षिक वर्ष खेर नजाने गरी उच्च शिक्षा तहको परीक्षा वैकल्पिक विधि अपनाएर भएपनि सञ्चालन गर्नपनि समितिले सरकारको ध्यानाकर्षण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्