८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘कोरोना नियन्त्रणका लागि रकम खर्च गर्दा अख्तियार लाग्छ कि भन्ने डर’


0
Shares

काठमाडौं, भदौ १० । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको सांसदहरुले बताएका छन् ।

काठमाडौं उपत्यकाभित्र कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयास सम्बन्धमा बुधबार काठमाडौं उपत्यकाका सांसदहरुबीच भएको छलफलमा सांसदहरुले सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका हुन् ।

उपत्यकाभित्र अहिलेसम्म क्वारेन्टिन निर्माण गर्ने, आइसोलेसन निर्माण गर्ने, आइसीयु बेड र भेन्टिलेटरको संख्या बढाउने कुरामा सरकारले प्रभावकारी काम गर्न नसकेको सांसदहरुले बताएका हुन् ।

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले आइसीयु बेड र भेन्टिलेटरको संख्या बढाउन सरकारले चासो नदिएको बताउनुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जीवनराम श्रेष्ठले संस्थागत आइसोलेसनको संख्या बढाउनुपर्नेमा जोड दिनुभयो ।

बढी जनघनत्व भएको ठाउँमा होम आइसोलेसनमा राख्दा जोखिम बढ्नेतर्फ सरकारको ध्यान नगएको उहाँले बताउनुभयो ।

नेकपाकै सांसद कृष्णबहादुर राईले अहिले पीसीआर परीक्षणका लागि एक साताअघि स्वाब लिइएकोहरुको नतिजा आएको र निषेधाज्ञा जारी भएपछिको आइनसकेको भन्ने बुझिएको बताउनुभयो ।

त्यसैले निषेधाज्ञाको प्रभाव कोरोना नियन्त्रणमा कस्तो परेको छ भन्ने अबको दुई/तीन दिनमा मात्रै देखिने उहाँले बताउनुभयो ।

नेकपाकी सांसद रामकुमारी झाँक्रीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रकम खर्च गर्दा अख्तियार लाग्छ कि भन्ने डर स्थानीय तहका जनप्रतिनिधिमा भएको बताउनुभयो ।

सोही कारण पर्याप्त मात्रामा क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको निर्माण हुन नसकेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले उपत्यकाभित्र कोभिड-१९ को संक्रमणको दर बढ्दै गएको अवस्थामा संघीय सांसदहरुको भूमिका थप प्रभावकारी बनाउने विषयमा जोड दिनुभयो ।

छलफलको संयोजनसमेत गर्नुभएका सांसद प्रधानले स्थानीय तहलाई सघाउन र सचेतना बढाउने विषयमा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।