१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वास्थ्यकर्मीलाई अपमान होइन, धन्यवाद भनौं


13
Shares

-संजिव कार्की

विश्व महामारीको चपेटामा छ । यो तेश्रो विश्व युद्द जस्तै हो । जसका सिपाही डाक्टर, नर्स र समस्त औषधि जगतमा काम गर्ने मान्छेहरु हुन् । यो लडाई लडन औषधि रुपी हतियार मात्र प्रयाप्त छैन । कोविड–१९, कोरोनाको औषधि सफल परीक्षण भएको छैन । अनेकन चरणको परीक्षण जारी छ । रुसले आफूले भ्याक्सिन तयार गरेको दावी गरेको छ । चीनलगायत अरु देशको पनि आ–आफ्नो दाबी र परीक्षणका कुराहरु आएका छन ।

यद्यपी, विश्व स्वास्थ्य संगठनले आधिकारिकता प्रदान गरिसकेको छैन । मानव बैज्ञानिक मस्तिष्क यसको निदानको लागि घोत्लिएको घोत्लियै छ । इबोला, जीका, डेंगु, स्वाइन फ्लु, बर्ड फ्लु ,सार्श जस्ता फ्लु र रोगहरुको औषधि पत्ता लागेको र अन्वेषण हुँदै गरेको अवस्थामा यो भाइरस पनि मान्छेको काबुभित्र आउछ नै तर समय लाग्छ पनि । कुनै पनि देश र भूगोल यसको चपेटाले नपिरोलिएका छैनन् । कोरोनाले आफ्नो प्रभाव विस्तार नगरिसकेका देशमा पनि यसको आगमन र सम्भावित मानवीय क्षतिले त्राश फैलाएको छ । संसारको कुनै पनि शक्ति, महाशक्ती राष्ट्रढुक्कसँग निदाउन सकिरहेका छैनन् । सम्पन्न विपन्न सबैमा यसको भयले सातो उडाएको छ । समस्या खडा गरेको छ । यो ब्याधि यो महामारी विरुद्ध लडने पहिलो पक्ष औषधि सेवा र व्यवसाय सम्बद्द मान्छेहरु हुन । तसर्थ यिनको देखभाल राज्यको पहिलो दायित्व हो ।

राज्यले परिस्थितिलाई मध्ये नजर गरेर प्राथमिकताको चयन गर्नुपर्ने हुन्छ । यतिबेला विश्वको ध्यान, जप, पूजा ,प्रार्थना या बाच्ने जिजीबिषामा जे गर्न सक्छ चाहन्छ त्यो सबै कोरोना माथि विजय प्राप्त गरेर मानवलाई अकालको मृत्युबाट जोगाउनु नै हो । मानव रक्षार्थ आफ्नो सम्पूर्ण तागत खर्चनु हो । ती तागत भनेका स्वास्थ्यकर्मी र तिनको योगदान हो । स्वास्थ्यकर्मीको मनोबल उकाशेर आफ्नो रक्षार्थ प्रयोग गर्नु राज्यको पहिलो प्राथमकिता हो । राज्य संयन्त्रलाई हरतरहले नागरिकले सघाउनु नागरिकको कर्तव्य र जिम्मेवारी छ । राज्य संयन्त्र यतिबेला विषम घडीमा एक्लै लडन सक्तैन । नागरिकको विवेकको घडी पनि हो विषम परिस्थिति । यो प्रकोपले कसैलाई पनि नछोड्ने हुँदा यसबाट बच्न सबैले आ–आफ्नो भूमिका फराकिलो परेर बच्ने ,बचाउने उपायको खोजीमा जानुपर्छ । अन्यथा कोही कसैले उन्मुक्ति पाउँदैन ।

बिडम्बना स्वास्थ्यकर्मी दोहोरो मारमा छन् । यद्यपी, आफ्नो चिकित्सकीय धर्म र सेवाबाट बिमुख बनेका छैनन् । कुटाइ खाएका छन् । अपमानित भएका छन तर मैदान छोडेर भागेका छैनन् । तर भाग्ने स्थिति छ । हामी यस्तै हो भने सक्दैनौ भनेर धम्क्याएका छन । जुन पर्साका स्वास्थ्यकर्मीको संयुक्त राजीनामाले संकेत गरेको छ । तर राजीनामा फिर्ता गरेर उनीहरु काम मै छन । यदि मान्छेले विवेक गुमायो भने स्वास्थ्यकर्मीले मैदान छोडेर भाग्ने दिन न आउला भन्न सकिन्न । यिनीहरु पनि मान्छे नै हुन् यिनलाई पनि दुख्छ पोल्छ अपमानको पीडाले । आत्मसम्मान र स्वाभिमानको हेक्का रहन्छ । घर परिवार सबै छोडेर बिरामी र सेवाको लागि बस्दा आफैं संक्रमित भएर रहँदा पनि ज्यानको पर्वाह नगरी रातदिन खट्दा पनि असुरक्षित बस्नुपर्यो भने, अपमानको चड्कन थाप्नु पर्यो भने, ‘डाक्टर चोर देश छोड’ सुन्नु पर्यो भने कति दिन चुप लागेर बस्न सक्छन ।

सहनुको सीमा पार भयो भने प्रतिकार स्वाभाविक हर्कत बन्छ । प्रतिकार भनेर हतियार उठाउनु पर्दैन, अमर्यादित र अभद्र बन्नु पर्दैन । केवल हात बाँधिदिएर चुप बसिदिए पुग्छ । स्वास्थ्य सेवाका सारा अवयव यिनको मौनतामा ठप्प हुन्छ अनि बाच्ने को ? बिद्रोह हतियारबन्द मात्रै हुदैन हतियार बिहिन पनि हुन्छ िहतियार बिहिन हात बाँधेर कथं स्वास्थ्यकर्मीले बिद्रोह रोजे भने बाच्ने अभिलाषा समाप्त हुन्छ । मर्नु नै छ भने प्रताडित भएर नै मर्नु छ भने किन आत्मसम्मान गुमाएर मर्नु भनेर स्वास्थ्यकर्मीले विवेक गुमाए भने हाम्रो हालत के हुन्छ ? उपचार गर्न कहाँ जाने ? भगवानको मन्दिर पनि बन्द छ बरु मन्दिर बन्द गरेर सेतो कोटमा भगवान अस्पताल आएका छन । तिनै भगवानलाई पनि अपमान गर्ने बस्न नदिने, निषेधित गर्ने गरियो भने भगवान रिसाउँछ्न । सांचिकै भगवान रिसाए भने मान्छेको बाच्ने आधार र औचित्य समाप्त नहोला भन्न सकिन्न ।

डाक्टर नर्सलगायत स्वास्थ्यकर्मी पनि मान्छे हुन् । कमजोरी गर्न सक्छन । त्यसको भोलि समीक्षा गरौंला । मान्छेको उपचार गर्ने र सक्दो बचाउने उनीहरुको धर्म हो । तर मान्छे नमर्ने ग्यारेन्टी प्रकृतिको विरुद्द छ । मान्छे बचाउन नसकेकोमा गालीगलौज अनावश्यक हो । गलत उपचार र मानवीय इरर बारे अनुसन्धान हुन्छ । तर डाक्टरकोमा गएपछि मान्छे नमर्ने ग्यारेन्टी खोज्नु मुर्खता हो । डाक्टरसँग हामीले मूर्खतापूर्ण ब्यबहार पनि गरेका छौं । भलै सबै डाक्टर, नर्स स्वास्थ्यकर्मी असल नहोलान त्यहाँ भित्र पनि खराबी छ । खराब मान्छेहरु छन । तिनीहरुलाई कार्यबाही गर्ने राज्यको नियम कानुन र बिधि बिधान छ । तर बिधानत नगएर मुढाग्रह बोकेर हामी गयौं भने समस्या सुल्झादैन, उल्झंछ ।

यो परिस्थितिमा सबैको संयम र विवेकको खाँचो छ । डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीलाई कोरोनाले छूट दिदैन् । त्यसैले उनीहरुलाई पनि संरक्षण गर्दै काममा लगाउन राज्यले सक्नुपर्छ । स्वास्थ्यकर्मीको हौसला बुलन्द गर्न अत्यावश्यक स्वास्थ्य सामग्री, मोटिभेसन गर्ने राहत, बिमा र तलब भत्ता आदि इत्यादिमा राज्यले स्पष्ट नीति अख्तियार गर्नुपर्छ । आफ्नो सुरक्षित भविष्य र आइपर्ने खतराको लागि राज्य छ भन्ने भरपर्दो आधार र विश्वास दिनुपर्छ, ताकी कामलाई आफ्नो पवित्र सेवा र धर्म भन्ने सम्झिन सकुन । हामी मानवीयता विहिन भएर डाक्टरहरु माथि दुर्व्यवहार गरिरहेछौं । मानवीय संवेदन गुमाएर कसैलाई पनि दुर्व्यवहार गर्न पाइन्न । झन यो जटिल परिस्थितिमा डाक्टर माथि अभद्र ब्यबहार निन्दनीय र अमानावाताको पराकाष्ठा हो ।

यही हप्ता संक्रमित स्वास्थ्यकर्मी बसेको होस्टेल अघि गएर बानेश्वरबासीले जुन निक्रिस्टता प्रस्तुत गरे त्यो सभ्य समाजको लागि अत्यन्त आपत्तिजनक कुरा हो । मानवीयता गुमाएको उदाहरण हो । देशको राजधानी काठमाडौं त्यसमाथि पनि बानेश्वरमा संक्रमित बस्ने स्थानमा अभद्र प्रदर्शन गर्नुले हामी नैतिक रुपमा च्युत र मानवीयता भुलेका दुई खुट्टे प्राणी मात्र भएको झल्को पेश गरेको छ । बिरामी, बृद्ध बालक र असक्तहरु प्रति हर मानवले विशेष सहानुभूति राख्नुपर्छ । उनीहरुको लागि आफ्नो सेवा सुबिधा कटौती गर्न राजी बन्नुपर्छ । तर आफ्नो उपचार गर्ने स्वस्थ्यकर्मी बिरामी हुँदा हामी असभ्यता प्रकट गरिरहेछौं । पागलपन देखाई रहेछौं । जुन नितान्त हृदयहीन पाषण मुटुको लागि सुहाउने कुरा हो । मानव मुटुको लागि किमार्थ होइन । डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीलाई डेरा छोड्न दबाव दिने, कोठा भाडामा दिन नमान्ने जस्ता कुराले गम्भीर मानवियताको खडेरी संकेत गरेको छ ।

आज स्वस्थ्य हुँदा डाक्टर चाहिएन । भोलि बिरामी परियो भने कसको शरणमा जाने ? उपचार गर्ने स्वस्थ्यकर्मीलाई छि छि गरेर भविष्यमा आफू बिरामी पर्दा कसले बचाउँछ ? निर्दयी बन्न छोडेर दयावान र हृद्यालु बन्न सिकौं । अपमान तुच्छ ब्यवहार र गालीगलौजले कामेका हातले उपचार कतिन्जेल गर्न सक्छ र ? शिर झुकाएर कतिन्जेल उसले आफ्नो दक्षता देखाउछ ? हाम्रै उपचारको लागि खट्दा संक्रमित बन्दा पनि क्वारेन्टाइनमा बस्न आइसोलेसनमा बस्न हामीले अवरोध गरेपछि उनीहरु जान्छन कता ? कोही पनि आफ्नो स्वेच्छाले संक्रमित बनेका हुँदैनन् ।

आज सुरक्षित रहेकाहरु भोलि संक्रमित नबन्ने कुनै अवस्था छैन । तसर्थ आफू भएर सोचौ, आफ्ना छोराछोरी र दाजुभाइ दिदीबैनीको स्थानमा सबै डाक्टर नर्स स्वास्थ्य उपचारमा संलग्न भएका अनि संक्रमित पनि बनेका सम्झौं कस्तो भाव र हृदय हुन्छ हेरौं । के तपाईका छोराछोरीलाई यस्तै दुर्व्यवहार कसैले गर्यो भने त्यो सह्य हुन्छ ? आफूलाई सह्य हुँदैन भने अर्कोलाई पनि त त्यस्तै हुन्छ नि ?

कोरोना भाइरस विरुद्ध जैविक युद्ध गर्नु परेको छ संसारले । यसको विरुद्द लडने सिपाहीहरुसँग प्रयाप्त हतियार छैन, न्यून अस्पताल, न्यून स्वास्थ्य सामग्री, न्यून जनशक्ति छ । तर पनि स्वास्थ्य सेवालाई जागिर होइन मानवीय धर्म भनेर न्यूनता र अप्रप्याप्तताकै विच हाम्रा स्वास्थ्यकर्मीहरु जीवन जोखिम मोलेर सेवारत छन यो हेक्का राखौ । आधारभूत स्वास्थ्य सामग्रीको अभावमा पनि डटेर उपचारमा लाग्नेलाई हौसला कि दण्ड लान्छना र अपमान ? हामी कृतज्ञ बन्ने कि कृतघ्न ? महामारीको महासंग्राममा फ्रन्ट लाइनमा बसेर अदृश्य भाइरससँगलड्ने र लड्न सिकाउने स्वास्थ्यकर्मीहरु हामीले पुज्ने भगवान बनेर हाम्रो रक्षार्थ उभिएका छन् ।

अहिले हामीसंगै भएको सिमित श्रोत र साधनकै भरमा हामीले यो भाइरसलाई परास्त गर्नुछ । यस्तोबेला डाक्टर लखेटन थाल्यौं भने हाम्रो बुद्दीलाई के भन्ने ? मानव बीज मास्ने भाइरसँग मिलेर लड़नुपर्ने बेला स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्दा हामीलाई कुन सन्तुस्टी मिल्छ ? मानव सभ्यता सबै मिलेर जोगाउने कि मास्ने ? स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र सरकार अनि नागरिकको संयुक्त हातेमालो चाहिएको छ । बिरामीको उपचार गर्दागर्दै संक्रमित बनेका स्वास्थ्यकर्मीलाई हेला होइन उर्जा र उत्साह जगाउनु आवश्यक छ । ताकी निको हुने बित्तिकै काममा फर्केर सयौं बिरामी बचाउन लगि परुन् । स्वास्थ्यकर्मीहरुको लागि उर्जा भर्न हामी पनि धन्यवाद प्रकट गर्ने संस्कृति निर्माण गरौं । कामबाट फर्किएका काममा जाँदै गरेका काम गर्दै गरेकालाई मुसुक्क हाँसेर धन्यवाद भनौं ।धन्यवाद डाक्टर, धन्यावद नर्स, धन्यवाद स्वास्थ्यकर्मी ।

स्वास्थ्य क्षेत्रमा अहोरात्र खट्ने सबलाई जो जहाँ भेटिन्छ देखिन्छ धन्यवाद भनौं कृतज्ञता ज्ञापन गरौं । सार्वजनिक संजालमा सबैको पहुँच छ धन्यवाद स्वास्थ्यकर्मी लेखौं । सम्मान व्यक्त गरौं । सम्मान दिनेले सम्मान पाउँछ पनि । स्वास्थ्यकर्मीको उत्साह र आत्मविश्वासमा आत्मसम्मानमा तपाई हाम्रो जीवन फुल्न सक्छ । आफ्नो ज्यानको खतरा मोलेर हाम्रो उपचार गर्ने हाम्रो जीवन बचाउने राष्ट्रका सेवकहरुलाई कन्जुस्याई नगरी धन्यवाद भनौं । धन्यवाद लेखौं । बिभिन्न संघ संस्थाले धन्यवादको ब्यानर बनाएर प्रत्येक अस्पतालमा राखौं । मनोबल गिर्न होइन उचाल्न हाम्रो प्रयास हुनुपर्छ । हाम्रा लागि खट्ने, हाम्रा लागि मरिमेटने, देशको लागि जाग्ने समस्त स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी , स्वयंसेवक सबै सबैलाई धन्यवाद ।